कर विज्ञ रूप खड्काले मूल्य अभिवृद्धि कर सम्बन्धमा दुईवटा पुस्तक एकसाथ प्रकाशन गरेका छन्। नेपाल मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको २५ वर्षको समीक्षा गर्दै खड्काले दुईवटा पुस्तक प्रकाशन गरेका हुन्।
‘मूल्य अभिवृद्धि कर र कार्यान्वयनको पच्चीस वर्ष’ नामक पुस्तकमा मूल्य अभिवृद्धि करको परिचय, विकास र विस्तारका साथै कार्यान्वयन स्थितिको समीक्षा गरिएको छ।
पैरवी प्रकाशनबाट प्रकाशित यो पुस्तकमा नेपालमा मूल्य अभिवृद्धि करको तर्जुमा, यो कर लागू गर्न गरिएको तयारी, यसको राजस्व योगदान तथा कार्यान्वयन स्थितिमाथि प्रकाश पारिएको छ। करको छुट, दर्ता सीमा, दर तथा करसम्बन्धी विभिन्न प्रक्रियागत कुराहरूको समीक्षा पुस्तकले गरेको छ।
मूल्य अभिवृद्धि करले मुलुकमा आर्थिक विकास तथा सामाजिक न्याय कायम गर्न सक्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। आगामी दिनमा न्यूनतम लागतमा अधिकतम राजस्व परिचालन गर्न आवश्यक सुझाव पनि लेखक खड्काले दिएका छन्। ३९५ रूपैयाँ मूल्य तोकिएको यस पुस्तकलाई १२ अध्यायमा विभाजन गरिएको छ।
त्यस्तै खड्काको अर्को पुस्तक ‘नेपालमा मूल्य अभिवृद्धि कर सम्बन्धी अनुभव’ रहेको छ। यो पुस्तकमा नेपालमा मूल्य अभिवृद्धि कर कार्यान्वयनको रजत जयन्तीका उपलक्ष्यमा प्रकाशित विभिन्न लेख समावेश गरिएका छन्।
यो पुस्तकले मूल्य अभिवृद्धि करको तर्जुमा, तयारी तथा कार्यान्वयन स्थितिबारे परिचित गराउनुका साथै कर छुट, दर्ता सीमा, दर, कर कट्टी तथा कर फिर्तासम्बन्धी वर्तमान व्यवस्था, त्यसमा देखिएका समस्या र समाधानका उपायबारे जानकारी दिने लेखक खड्काले बताएका छन्।
पुस्तकको अध्ययनबाट मूल्य अभिवृद्धि करको राजस्व योगदान तथा सम्भावनाबारे समेत जानकारी प्राप्त हुने उनको भनाइ छ। यो पुस्तकको बजार मूल्य ४४५ रूपैयाँ तोकिएको छ।
को हुन् खड्का?
रूप खड्का कर विज्ञका रूपमा परिचित छन्। खड्काले करबारे दुई दर्जनभन्दा बढी किताब प्रकाशन गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा करसम्बन्धी लेखहरूका साथै विभिन्न देशको करबारे विभिन्न प्रतिवेदन तयार गरेका छन्।
नेपालको मूल्य अभिवृद्धि करको तर्जुमा, तयारी तथा कार्यान्वयनमा भूमिका खेलेका खड्काले अजरबैजान, किर्गिस्तान, पाकिस्तान, बंगलादेश, बेलिज, मंगोलिया र पूर्वी अफ्रिकन समुदायका सदस्य मुलुकमा मूल्य अभिवृद्धि कर सुधार्न सघाएका छन्।
खड्काले सरकारले विभिन्न समयमा गठन गरेका आयोग, समिति तथा कार्यदलमा काम गरेका छन्। त्यस्तै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, अन्तर-अमेरिकी विकास बैंक लगायतका निकायमा सल्लाहकारको काम गरेका छन्।