नेपालको लागि अमेरिकी राजदूत डेयन आर थमसनले नेपालमा अनुदान थप्न इच्छुक रहेको प्रतिक्रिया दिएका छन्। बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा उनले यस्तो बताएका हुन्।
मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसिसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत् अमेरिकाले नेपालमा अनुदान थप्ने बताएको अर्थमन्त्री महतले जानकारी गराए।
बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो। कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थमसनबीच छलफल भएको थियो।
त्यसैगरी नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको मन्त्री डा. महतले जानकारी दिए। आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ, डा. महतले भने।