लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने भएको छ।
लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ।
बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा संकलित विभिन्न २० वटा देशका विदेशी मुद्रामात्र सटही गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
लुम्बिनीमा भेटी र दानबापत जम्मा भएको विदेशी मुद्रामा सबभन्दा धेरै म्यानमारको रहेको कोषका कोषाध्यक्ष भट्टराईले बताए।
यस्तै, श्रीलंका, मेक्सिको, इराक, ब्रुनाई, लेबनान, पेरू, युगान्डा, भियतनाम, बङ्गलादेश, इन्डोनेसिया, ओमानलगायतका मुलुकको मुद्रा रहेको उनको भनाइ छ।
राष्ट्र बैंकको परिपत्र सूचीमा नपरेका लुम्बिनी मायादेवी मन्दिरमा दानबापत चढाइएका मुद्रा लामो समयदेखि सटही नभएर कागज बराबर भएको थियो।
लुम्बिनी विकास कोषले पटक/पटक पहल गरे पनि परिपत्र सूचीमा नभएकाले सटहीका लागि समस्या भएको थियो।
राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषसँग सम्झौता भएसँगै आर्थिक वर्ष ०७१÷०७२ देखि सटही हुन नसकेको करिब रु ७४ लाख बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा जाने भएको छ ।
विभिन्न मुलुकबाट लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको भेटी रकम राष्ट्र बैंकको परिपत्र विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूहरूको पटक पटकको अनुरोधपछि सटही हुने अवस्थामा आएको कोषका कोषाध्यक्ष भट्टराईले बताए।
‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रूपन्देही आएको बेला भेटीबापतको रकम सटही नभएको कुरा राखेका थियौं, ध्यानार्कषण पत्र पनि बुझायौं, राष्ट्र बैंकले सटही गर्ने सैद्धान्तिक सम्झौता भएको छ’, कोषाध्यक्ष भट्टराईले भने।
कोषले सङ्कलित विभिन्न ३९ देशका विदेशी मुद्रा सटहीका लागि एक हप्ताभित्रमा राष्ट्र बैंक पठाउने उनले बताए।
परिपत्र विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या भए पनि अब सटहीका लागि प्रक्रिया अघि बढाइने राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताए।
कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिङ्गापुरस्थित एजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने उनले बताए।
उनका अनुसार यो रकम सटही भएपछि तीनदेखि चार महिनाको अवधिमा लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ।
लुम्बिनीको मायादेवी मन्दिर, अशोकस्तम्भलगायतका क्षेत्रमा राखिएका दानपेटीमा जम्मा भएको विदेशी मुद्रा लामो समयदेखि सटही हुन सकेको थिएन।
अहिले विदेशी मुद्रा सटही हुने भएपछि यसले लुम्बिनी विकास कोषको टाउको दुखाइ कम भएको छ।