सत्तारुढ दलहरूका तर्फबाट सरकारले अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता सहितको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ।
सत्तारूढ दलका प्रमुखहरूको उपस्थितिमा साझा न्यूनतम बिहीबार सार्वजनिक गरिएको हो। कार्यक्रम सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले अर्थतन्त्रमा देखा परेको मन्दी, औद्योगिक उत्पादन तथा व्यवसायी क्षेत्रमा आएको ह्रास लगानी जोखिम वित्तीय क्षेत्रमा तरलता संकुचन लगायतलाई सम्बोधन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने कार्यक्रम ल्याइएको बताइन्।
जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिजस्ता महत्त्वपूर्ण स्रोत साधनहरूको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्याउन पुँजी निर्माण तथा परिचालन नयाँ प्रविधिको उपयोग गर्ने उल्लेख गरिएको छ।
पूर्वाधारमा लगानी गरी उत्पादकत्व वृद्धि गरी समन्यायीक वितरणमा आधारित नीति अवलम्बन गर्ने नीति रहेको उल्लेख गरिएको छ।
अर्थतन्त्रमा देखा परेको मन्दी, औद्योगिक उत्पादन तथा व्यवसायी क्षेत्रमा आएको ह्रास, लगानी जोखिम, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन तथा पुँजी बजारमा आएको गिरावट लगायतका समस्यालाई सम्बोधन गरिने साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ।