डेढ महिना अघिसम्म विराटनगरमा प्रधान कार्यालय रहेको तुलसी बहुद्देश्यीय सहकारीका सञ्चालकहरूको रवाफ कम थिएन। अध्यक्ष केदारनाथ शर्मा चार करोड रूपैयाँ पर्ने गाडी चढ्थे। गाडी फेरिरहनु उनका लागि सौखको विषय थियो।
सहकारीका अन्य पदाधिकारी र सञ्चालक सदस्यहरू पनि कम्तीमा करोडका गाडी चढ्थे।
प्रधान कार्यालय छेउमा रहेका चिया पसलमा उनीहरू बिर्सेर पनि छिर्दैन थिए। चिया-मिटिङ गर्न पनि विराटनगरका महँगा होटलमा जानु उनीहरूका लागि सामान्य विषय थियो।
अहिले अध्यक्ष केदारनाथ शर्मा फरार छन्। उनीसँगै समितिमा रहेर काम गरेका केही पदाधिकारी र कर्मचारी कारागार पुगेका छन्।
सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश प्रकाश कोइरालाको एकल इजलासले शुक्रबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएपछि बचतकर्ताहरूले तत्कालका लागि सन्तोकको सास फेरेका छन्। तर आफ्नो डुबेको पैसा के होला भन्ने भयले पिरोलिइरहेका छन्।
ठगी मुद्दामा थुनामा पठाइएकाबाहेक अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र छविलाल विश्वकर्मा फरार सूचीमा छन्।
यो दुर्दशाको मुख्य कारण उनीहरूले बचतकर्ताको पैसामा गरेको अनियन्त्रित अपचलन हो। अझ खाई-नखाई सहकारीमा पैसा जम्मा गर्ने बचतकर्ताको झन् धेरै बेहाल भएको छ।
'श्रीमतीले साइप्रसमा कमाएर पठाएको सबै पैसा यही सहकारीमा राखेको थिएँ,' धनकुटा पाख्रिवासका एक बचतकर्ताले भने, 'उसले विभिन्न समयमा पठाएको १६ लाख रूपैयाँ त्यहाँ जम्मा गरेको थिएँ। यसपालि छोराछोरीको स्कुल शुल्क तिर्ने बेलामा पैसा नपाएपछि थाहा भयो, पैसा त डुबेछ।'
धनकुटाका उनी विराटनगर आएर बस्न थालेको तीन वर्ष भयो। वैदेशिक रोजगारीका लागि साइप्रस पुगेकी पत्नीसँगको सल्लाहमै छोराछोरीलाई 'राम्रो स्कुल' पढाउन उनी विराटनगर झरेका थिए। १४ वर्षकी छोरी र ११ वर्षका छोरालाई स्कुल पढाउँदै एउटा निजी कम्पनीमा काम गर्थे। अहिले पैसा डुबेको खबर श्रीमतीलाई दिएका छैनन्।
'यो कुरा उसलाई थाहा भयो भने बर्बाद हुन्छ,' उनले भने, 'त्यति दुःख गरेर कमाएको पैसा डुबेको कुरा थाहा पाउँदा के होला हालत?'
तुलसी सहकारीमा आबद्ध तीन हजारभन्दा बढी सदस्यहरूको अवस्था अहिले ठ्याक्कै यस्तै छ। सबै सदस्यहरूको बचत रकमको कम्तिमा एक अर्ब ४५ करोड ७५ लाख रूपैयाँभन्दा बढी सहकारीका सञ्चालकहरूले हिनामिना गरेको आरोप छ।
सहकारी सञ्चालकहरूले सदस्यहरूको रकम आफैं खर्च गरेको पाइएको छ। फेरीफेरी करोडौंको गाडी चढ्ने अध्यक्ष शर्माबाहेक सहकारीका नाममा दुइटा कार ९० लाख रूपैयाँमा किनेको भेटिएको छ। सहकारीको नाममा रहेको प्रदेश ३–०२४ च ४५९२ नम्बरको कार सहकारीका प्रबन्धक मन्दिप खवास र अर्को कार सञ्चालक बन्टी अधिकारीले चढ्थे। त्यस्तै सचिव सविना न्यौपाने गोरखा टी एन्ड कफी प्रालिको नाममा रहेको कार चढ्थिन्।
गोरखा टी एन्ड कफी सहकारीका अध्यक्ष शर्माको लगानी भएको कम्पनी हो। यसबाहेक उनले करोडौं रकम अरू निजी कम्पनीमा लगानी गरेको पाइएको छ।
अध्यक्ष शर्मा एक्लैले बचतकर्ताको ठूलो रकम ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको भेटिएको छ। मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदनअनुसार शर्माले खाद्यान्न, अटोमोबाइल्स, जुत्ता कम्पनी, मिडियादेखि जग्गासम्म लगानी गरेका छन्।
उदयपुर र झापामा मात्र शर्माका नाममा ३६ हजार २ सय ८ दशमलव ८७ वर्गमिटर अर्थात ५ बिघा ६ कट्ठा जग्गा भेटिएको छ। उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा पनि भेटिएको प्रहरी अनुसन्धानमा उल्लेख छ। सबैभन्दा बढी विराटनगर-१९ स्थित तुलसी मोटरपम्पमा लगानी गरेको पाइएको छ।
'उक्त मोटरपम्पमा ३२ करोड लगानी छ। झापाको गौरादहमा भएका चिउरा र चामल मिलमा ३४ करोड, दमक बजार, उदयपुरको गाईघाट र मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा गरी २५ करोड लगानी गरेका छन्,' प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ, 'यस्तै सिरहा गोलबजारमा मार्ट खोल्ने तयारीका लागि एक करोड लगानी गरेको पाइएको छ।'
शिव शिखर अर्गनाइजेसन प्रा.लि. का नाममा ८ करोड रूपैयाँ लगानी गरेका उनले नटराज एग्रो प्रा.लि, नटराज इन्टरप्राइजेज प्रा.लि.लाई बिनाधितो पाँच करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन्।
शर्माद्वारा नै सञ्चालित उदयपुर गाईघाटको नटराज एग्रो प्रा.लि.का नाममा चारतले भवन पनि छ। त्यही भवनमा गार्डेन मार्ट छ। यो भवन दस करोड ५० लाख रूपैयाँमा नटराज एग्रोले किनेको प्रहरीको भनाइ छ। नटराज एग्रोले तुलसी सहकारीलाई भाडामा लगाएको थियो। भाडा बापत सहकारीले मासिक २ लाख ५० हजार रूपैयाँ नटराज एग्रोलाई तिर्छ।
बचतकर्ताको पैसा निजी सम्पत्ति जोड्न लगानी गरेका शर्माले त्यही लगानीबाट बनेको भवनबाट पनि महँगो भाडा उठाएको भेटिएको छ।
यति मात्रै होइन, मार्ट र सहकारीको सेवा केन्द्र सञ्चालनका लागि सजावाट र आवश्यक सामान व्यवस्था गर्न मात्रै १५ करोड हाराहारी लगानी लागेको हिसाब देखाइएको छ। लेटाङको मार्टमा पाँच करोड लगानी छ। एक वर्षअघि खुलेको सिरहाको गोलबजारस्थित शाखा सञ्चालन गर्न र मार्ट खोल्न चार करोड लगानी छ। यद्यपि गोलबजारको मार्ट अहिलेसम्म सञ्चालनमा आएको छैन।
यसबाहेक अध्यक्ष शर्माको नाममा विराटनगर-३ पिपलचोकनजिकै घरसहित १५ धुर जग्गा एक करोड ८० लाखमा किनेको पाइएको छ। त्यो जग्गाको सिमानाको जग्गा किन्न भनेर थप ९४ लाख अध्यक्ष शर्माले लगेका छन्। तर त्यो बराबरको जग्गा हालसम्म पास नभएको र पैसा समेत फिर्ता नभएको देखिएको छ।
मोरङ प्रहरीको अनुसन्धानअनुसार सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकले सहकारीको ६७ करोड ७६ लाख २१ हजार २६८ रूपैयाँ हिनामिना गरेको देखिन्छ। त्यसमध्ये मोरङ प्रहरीमा एक हजार तीन सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रूपैयाँ ठगी गरेको देखिएको छ।
विश्वव्यापी मान्यताअनुसार स्वैच्छिक तथा खुला सदस्यता र सबै सदस्यहरूको आर्थिक सहभागिता सहकारीमा हुनैपर्छ। समुदायप्रति चासो राखेर सहकारीले आफूलाई र सदस्यहरूलाई प्रजातान्त्रिक नियन्त्रणमा राख्नुपर्छ। अहिले आफ्नो पैसा डुबेर विक्षिप्त अवस्थामा पुगेका बचतकर्ताहरू 'सहकारीका नाममा साहुहरूबाट लुटिएको' बताइरहेका छन्।
'१८ प्रतिशतसम्म ब्याज दिने भनेपछि बैंकमा राखेको २३ लाख रूपैयाँ निकालेर सहकारीमा राखेँ,' विराटनगर ३ का नवराज विष्टले भने, 'अहिले साँवा रकम नै डुब्ने अवस्थामा पुग्यो। यसले के गर्नु र कसो गर्नुको अवस्थामा पुर्याएको छ।'
बचतकर्ताहरूको यस्तो अवस्था देखिँदा सञ्चालकहरूको बेइमानीको हद उच्च देखिन्छ। अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रूपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको समेत पाइएको छ। सहकारीकर्मीहरूका अनुसार सहकारीको मान्यता लत्याएर जथाभावी गर्दाको परिणामले यस्तो अवस्था आएको हो।
'हरेक सहकारीमा पारदर्शी आर्थिक व्यवस्था अनिवार्य हुन्छ,' पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वेश्वरप्रसाद भट्टराई भन्छन्, 'त्यसो नभए तुलसीको नियति दोहोरिन्छ।'
उनका अनुसार सहकारीमा जम्मा भएको रकम निजी कम्पनीमा लगानी गर्नु सरासर ठगी हो।
'सहकारीको रकम निजी कम्पनीमा लगानी त के, सहकारीकै नाममा अनुत्पादक क्षेत्रमा समेत लगाउन मिल्दैन,' उनले भने, 'निश्चित प्रतिशतभन्दा बढी रकम सहकारीकै नाममा पनि जग्गा, घर, भवनमा लगाउन मिल्दैन। त्यसो गर्दा जुनसुकै बेला संस्था धरापमा पर्न सक्छ। बचतकर्ताको रकम डुब्ने जोखिम हुन्छ।'