३९ प्रतिशत राजस्व बढ्ने अनुमान गरेर खर्चको योजना बनाएको सरकारलाई १५ प्रतिशत राजस्व घटेपछि सरकारलाई व्यवस्थापन चुनौती बढेको छ। राजस्व घट्नुको पहिलो कारण भन्सार रहेको छ।
आयातमुखी अर्थतन्त्रमा आयात नै २० प्रतिशतले र भन्सार महसुल २८ प्रतिशतले घटेको भन्सार तथ्यांक रहेको छ। चैत २६ गतेसम्म २ खर्ब ७९ अर्ब रुपैयाँको भन्सार महसुल उठेको छ। यो गत वर्षभन्दा २८ प्रतिशतले कमी हो।
भन्सार घट्नुमा व्यापारी स्वयमले भने प्रमुख कारण चोरी पैठारी देखेका छन्। चोरी पैठारी मौलाएको कारणले नै वैधानिक कारोबारलाई निरुत्साहित गरेको व्यापारीको भनाइ छ।
गत वर्षको तुलनामा २८ प्रतिशतले घटेको भन्सार महसुल लक्ष्यको तुलनामा ४१ प्रतिशत कम छ। यही समयमा भन्सार विभाग आगामी रणनीति बनाउन जुटेको छ।
आयात विश्लेषण गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राजस्व र आयातित वस्तुको विषयमा सामानअनुसार तथ्यांक विश्लेषण गर्न मुख्य भन्सार कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
'राजस्व घट्नुको सबै दोष भन्सारको मात्रै होइन तर भन्सारको मात्रा छ' महतले भने ‘सबै कुरा तथ्यांक गत विश्लेषण गर्नुपर्छ, आयातित सामान अनुसार कुन वस्तु के कारणले कम वा धेरै आयो यसले राजस्वमा कसरी असर गर्यो, मलाई तथ्यांक विश्लेषण चाहियो' उनले भने।
भैरहवा भन्सार कार्यालयबाट गत वर्षको भन्दा ४० प्रतिशत राजस्व घटेको, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट उल्लेखनीय भन्सार घटेकोमा मन्त्री महतको चासो रहेको छ। काम र क्षमताको आधारमा कर्मचारीको मूल्याङक गरिने भन्दै उनले आफ्नो काममा केन्द्रित हुन कर्मचारीलाई निर्देशन दिएका छन्।
उनले भन्सार नाका वरिपरिबाट भन्सार जाँचपास नगराई ट्रक नै छिर्ने गरेका गुनासो आएको भन्दै यस्तो गुनासो सुन्न नचाहेको उनले बताए।
मन्त्री महतले राजस्व बढाउने सवालमा आगामी रणनीति बनाउन पनि कर्मचारीलाई आग्रह गरे। 'यहाँ भन्सार मूल्य बढाएपछि भन्सार राजस्व बढ्छ भनिन्छ, सत्य त्यसो होइन कुनै वस्तुको घटाउँदा पनि राजस्व बढ्न सक्छ, विश्लेषणसहितको सुझाव चाहियो, यो क्षेत्रको व्यवहारिक विज्ञ तपाईंहरू हो' मन्त्री महतले भने।
राजस्व सचिव डा.रामप्रसाद घिमिरेले भन्सारको आगामी रणनीति राजस्वका दृष्टिकोणले मात्रै नभई व्यापार सहजीकरण र उपभोक्ता हितको विषयलाई समेटेर गर्न खोजिएको बताए।
भन्सार विभागका महानिर्देश चक्र बुढाले कार्ययोजना बनाएर भन्सार सुधारमा केन्द्रित हुन चाहेको बताए
भन्सार बढाउन व्यापारीले दिएका उपाय
भन्सार बढाउन उद्योगी व्यवसायी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले केही उपाय सुझाएका छन्।
उनीहरूले उपभोगको क्षमता बढ्ने गरी आर्थिक क्रियाकलाप बढाउनु पर्ने, चोरी पैठारी रोक्नु पर्ने र भन्सारमा कारोबार मूल्य लागू गर्दा राजस्व उल्लेख्य बढ्ने उनीहरूको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अहिले देशको अर्थतन्त्र गम्भीर समस्यामा परेको बताए। 'अहिलेको जस्तो चुनौती कहिले थिएन, यो गतिमा पलायन कहिले थिएन, उद्योगले पनि श्रमिक कटौती गर्ने अवस्था आएको छ' उनले भने।
यसको समाधानको लागि उपभोक्ताको आत्मबल बढ्न आवश्यक रहेको उनको भनाइ छ।
सरकारी खर्च बढाएर पनि बजारमा पैसा ल्याउनु पर्ने उनले बताए। ब्याजदर घटाउन, न्यून विजीकर रोक्न उनको सुझाव छ।
उनले गैर कानुनी व्यापारका कारण पनि राजस्वमा गम्भीर धम्का लागेको बताए। 'अहिले बजारमा उपलब्ध ६० प्रतिशत मोबाइल गैर कानुनी आएको छ, यसले कति राजस्व गुमाएको होला?' उनले भने।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले व्यापार सहजीकरण, अवैध निकासी पैठारी रोक्ने र कारोबार मूल्यलाई मान्यता दिने नीति बनाउन आग्रह गरे।
अहिलेको बजार विकृति सन्दर्भ मूल्यको कारण भएको उनको बुझाइ छ। उनले एक तिहाइ अनौपचारिक अर्थतन्त्र देखिएको भन्दै यसलाई औपचारिक बनाउँदा वार्षिक सवा खर्बको राजस्व बढ्ने बताए।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवालले पनि चोरी पैठारीकै कारण भन्सार राजस्व घटेको बताए। उनले भन्सारमा वास्तविक कारोबार मूल्य लागू गर्न आग्रह गरेका छन्।