नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई)का अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धि निजी क्षेत्रबाट नै सम्भव भएको भन्दै निजी क्षेत्रलाई विश्वास गरेर अवसर दिने काम गर्न सरकार समक्ष आग्रह गरेका छन्।
महासंघको ५७औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रबाट नै समुन्नति सम्भव भएको बताए।
उनले यसको लागि सरकारले स्वदेशमा अवसर सिर्जना गरिदिनुपर्ने बताए।
'हाम्रो सहकार्य सरकार र सर्वसाधारणको समुन्नतिका लागि हो, तपाईं हामीलाई अवसर दिनुस्, हामी यो मुलुकमा समुन्नति दिन्छौँ यो सम्भव छ', उनले भने।
अध्यक्ष गोल्छाले निजी बैंकले पनि निजी क्षेत्र तथा व्यवसायीको समस्या बुझ्नु पर्ने भन्दै तरलता व्यवस्थापन एवं ब्याजदर स्थायित्वका लागि सरकार र राष्ट्र बैंकले उपलब्ध सबै उपकरणको प्रयोग गर्न आग्रह गरे।
उद्यम व्यवसाय चल्न सकेन भने बैंकहरू पनि समस्यामा पर्ने भन्दै यस्ता समस्यालाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
निजी क्षेत्रले काम गर्न नसके सरकारको राजस्व गुम्ने भन्दै निजी क्षेत्रको कारण अप्ठेरो परिस्थिति सिर्जना भएको विषयमा सरकारले पनि महसुस गर्नु पर्ने उनको भनाइ छ।
'आम्दानीभन्दा डेढ खर्ब बढी खर्च भएको छ, कर्मचारीलाई तलब दिन पनि नसकिने हो कि भन्ने चिन्ता हुन थालेको छ।' उनले भने।
उनले कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत पुगेको दाबी गरेका छन्। निजी क्षेत्रले ८५ प्रतिशत श्रम शक्तिलाई रोजगारी दिएको, उद्यमी व्यवसायी र सर्वसाधारणको उपक्रमबाट ८५ प्रतिशत राजस्व उठेको उनले बताए।
राजस्व प्रणाली र प्रशासनमा व्यापक सुधार आवश्यक रहेको समेत उनले बताए।
'नियमित करदातालाई नै थप भार पार्ने नीति लामो समय टिक्दैन। परिवर्तित विश्व अर्थतन्त्रमा राजस्व कर बलले हैन, प्रोत्साहित गरेर उठाउनु पर्छ।' उनले भने।