मेडिकल क्षेत्रको आधुनिक विकास हुँदै गर्दा नयाँ नयाँ ल्याब उपकरणहरु पनि भित्रिँदै गएका छन्। यस्ता उपकरणको बारेमा विस्तृत जानकारी गराउन तथा बिक्री गर्ने उद्देश्यले भृकुटीमण्डपमा अहिले मेला चलिरहेको छ।
संचालनमा रहेका पुराना अस्पताल, निजी क्लिनिक, सम्वन्धित चिकित्सक तथा विद्यार्थीका लागि लक्षित गर्दै मेडिकल ल्याब एक्स्पो संचालन गरिएको आयोजकले जनाएको छ।
एसडी प्रोमो मिडिया प्रालि र केमिकल तथा मेडिकल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा मेला भएको हो। मेलामा मेडिकल तथा ल्याब सम्बन्धी सबैखाले औजार तथा सामाग्रीका स्टलहरु छन्।
दुई सयभन्दा बढी मेडिकल सामाग्री उत्पादक, आयातकर्ता तथा होलसेल कम्पनीका साथमा ५ सयभन्दा बढी ब्राण्डको सहभागिता छ। भारतका १३० र नेपालका ४५ स्टलहरु मेलामा राखिएको छ। साथै थाइल्याण्ड, मलेसिया, अमेरिका, टर्की, जर्मनी लगायतका देशको सहभागिता रहेको अयोजकले जनाएको छ।
नेपाली मेडिकल जगतमा आधुनिक उपकरण भित्र्याउन र उपकरण सम्बन्धी अन्यौल हटाउन मेला महत्वपूर्ण भएको एसडी प्रमो मिडियाका निर्देशक विवेक बिक्रमले बताए।
‘मेडिकल ल्याब एक्सपोमा नयाँ–नयाँ प्रविधिका उपकरण राखिएको हुँदा चिकित्सक तथा विद्यार्थीहरुलाई विशेष फाईदा पुग्नेछ’ बिक्रमले भने ‘कतिपय जिज्ञासा प्रत्यक्ष प्रयोगमार्फत मेटाउन सकिनेछ।’
कतिपय अस्पताल तथा क्लिनिकमा अहिले पनि पुराना जोखिपूर्ण औजारहरु प्रयोग भइरहेकाले तिनको विस्थापन गर्नका लागि पनि मेला महत्वपूर्ण भएको उनको भनाइ छ।
अघिल्लो वर्षको तुलनामा यस पटक सहभागिता र अवलोकनकर्ता करिव २ गुणा बढेको पर्फेक्सन इन्टरप्राइजेज प्रालिका प्रवन्ध निर्देशक पुरुषोत्तम भट्टराइले बताए।
‘पहिले पहिले यस्ता आधुनिक उपकरणको बारेमा बुझ्न सम्वन्धित व्यक्तिहरु विदेश जानु पर्थ्यो, तर अब एक्स्पोमार्फत नै बुझ्न पाइने भएको छ’ भट्टराइले भने।
केही वर्षअघिसम्म यस्ता सामान धेरै बिचौलियामार्फत बिक्री हुने गरेकोमा अहिले सिधै कम्पनीसँग डिल गर्न सकिने हुँदा लागत पनि सस्तो पर्ने उनले बताए।
उपकरणले पार्न सक्ने नकारात्मक प्रभावका सम्वन्धमा पनि यहाँबाट जानकारी पाइनेछ। एक्स्पोमा निशुल्क २ दिने सम्मेलन पनि हुने छ। सम्मेलनमा चिकित्सक, अस्पताल तथा ल्याब प्रयोगकर्ताबीच जानकारीहरु आदान प्रदान हुनेछ।