आज फेब्रुअरी ४ का दिन विश्व क्यान्सर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सामान्यतया हाम्रो शरीरका कोषहरु अनुशासनमा बस्छन्। तर, विभिन्न कारणले ती कोषहरु एकाएक बढ्ने गर्छन्। जसले गर्दा शरीरमा समस्या आउँछ। यसैलाई क्यान्सर भनिन्छ।
क्यान्सरको नराम्रो पक्ष भनेको शरीरको एउटा अंगबाट अर्को ठाउँमा सर्नु हो। त्यसरी एक अंगबाट अर्को अंगमा फैलिनुलाई मेटास्टासिस भनिन्छ।
क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । पुरुषहरूमा फोक्सोको क्यान्सर, मुखको क्यान्सर धेरै भेटिन्छ। महिलाहरूमा भने पाठेघरको मुख र स्तनको क्यान्सर हुने गर्छ।
किन हुन्छ क्यान्सर ?यसको उत्तर त्यति सोझो छैन। केही क्यान्सर वंशाणुगत हुन्छन् भने फोक्सो, मुख आदिमा हुने क्यान्सरको धेरैजसो कारण चुरोट र खैनी हो । हामीले हेर्ने क्यान्सरका बिरामीमध्ये ८० प्रतिशतभन्दा धेरैले चुरोट वा खैनी खाने गरेका हुन्छन्।
मैले क्यान्सर मात्र हेर्न थालेको ५ वर्षयता चुरोट र खैनी नखाँदा पनि फोक्सो र मुखको क्यान्सर भएका बिरामी निकै कम भेटेको छु। यसको अर्थ चुरोट र खैनी नखाने मान्छेलाई फोक्सो वा मुखको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ।
क्यान्सर गराउने अन्य जोखिमहरूमा मोटो शरीर, प्रदुषित वातावरण, खानामा प्रयोग हुने केमिकल र कीटनाशक लगायत पर्छन्।
क्यान्सरको उपचारअपरेशन (शल्यक्रिया) काटेर फ्याल्न मिल्ने खालको छ भने क्यान्सरको अपरेशन गरिन्छ। जहाँ रोग छ, त्यो भाग नै काटेर हटाइन्छ । तर, धेरैजसो क्यान्सर काटेर निकाल्न नसकिने अवस्थामा भेटिन्छ। टाउको, घाँटी, रगत वा अरु निकाल्नै नमिल्ने भागमा क्यान्सर भएको छ भने शल्यक्रिया सम्भव हुँदैन।
किमोथेरापीः क्यान्सरको औषधिलाई किमोथेरापी भनिन्छ। आजकल सयौं प्रकारका किमोथेरापी बनेका छन्। केही क्यान्सर किमोथेरापीबाट सजिलै निको हुन्छ भने केहीलाई त्यसले छुँदैन। हरेक किमोका राम्रा र नराम्रा असर हुन्छन् । किमोले सामान्यतया कपाल झर्छ, वाकवाकी हुन्छ भन्ने सोचिन्छ । तर, सबैले त्यस्तो गराउँदैनन्।
रेडियोथेरापीः रेडियोथेरापी भनेको रेडियसन (विकिरण)को प्रयोगले क्यान्सरको उपचार गरिने प्रविधि हो। विकिरणलाई अझ सरल भाषामा भन्नुपर्दा अलि बढी तागतका एक्स-रे भनेर बुझ्दा हुन्छ।
रेडियोथेरापीको उपचार केही मिनेट, प्रतिदिन, हप्तामा ५ दिन गरेर ६ हप्ता जति हुन्छ । रेडियोथेरापीलाई हाम्रा बिरामीहरूले ‘सेकाइ गर्ने’ भन्ने गरेको सुनिन्छ। यो शब्द आफैंमा गलत छ, यो उपचार प्रविधिमा बिरामीलाई पोल्ने, दुख्ने केही पनि हुँदैन । रेडियोथेरापी सुरु गरेको २–४ हप्तामा कसैकसैको छाला अलि कालो हुन सक्छ। अरु प्रतिकूल असर के हुन्छन् भन्ने कुरा रेडियोथेरापी कुन अंगमा गरिँदैछ भन्नेमा भर पर्छ।
नेपालमा क्यान्सरको उपचारनेपालमा क्यान्सरको शल्यक्रिया धेरैवटा अस्पतालमा हुन्छन् र किमोथेरापी पनि धेरै अस्पतालमा लगाउन मिल्ने भएको छ । विश्वमा क्यान्सरको उपचारमा पछिल्लो समय निकै प्रगति भएको क्षेत्र रेडियोथेरापी हो।
यस बाहेक भक्तपुरमा निजी लगानीमा खुलेको काठमाडौं क्यान्सर सेन्टरमा नयाँ प्रविधिको रेडियोथेरापी र किमोथेरापी गरिन्छ । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा पनि क्यान्सरका सबै उपचार सम्भव छन्।
मैले काम गर्ने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पनि क्यान्सर उपचारमा लगानी गर्न अग्रसर भएको छ। अहिले अपरेशन र किमोथेरापी सेवा दिइरहेको यो अस्पतालमा रेडियोथेरापी पनि थपियो भने हामी पनि क्यान्सरको पूर्ण रुपमा उपचार गर्न सक्षम हुनेछौं।
उपचार सेवाको भविष्यक्यान्सरको उपचारको क्षेत्रमा समयसँगै नयाँ प्रविधि आइरहेका हुन्छन् । केही दशक अघि उपचार नै नहुने भनिएको क्यान्सर बेलामै भेटिए निको हुन थालेको छ ।
यसैले आगामी समयमा अझ नयाँ प्रविधि, नयाँ औषधि आउनेछन् र क्यान्सरको उपचार झनै सरल बन्नेछ भनेर विश्वास गर्न सकिन्छ। नेपालमा थप क्यान्सर अस्पतालहरु खुल्ने तयारीमा छन्। भइरहेका अस्पतालले पनि क्यान्सरको उपचार सेवा थाल्ने तयारी गरिरहेका छन्।
टिचिङ अस्पताल महाराजगञ्जले धेरै वर्षदेखि प्रयास गरिरहेको छ । निजामती अस्पतालमा पनि उपचार थालिने भनेको सुनिएको छ । निजामती अस्पतालमै नेपालमा पहिलो पटक बोन(म्यारो प्रत्यारोपण गरेर रक्तक्यान्सरको सफल उपचार पनि सुरु भएको छ। यसरी नै भइरहेका अस्पतालले सेवा सुरु गर्ने र सुविधा सम्पन्न क्यान्सर अस्पतालहरू देशका विभिन्न भागमा खुल्न थाले भने नेपालमै उपचार सजिलै सम्भव हुनेछ।
(डा अधिकारी काठमाडौं, टोखा, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर विशेषज्ञ हुन्)