सुलभ उपचारका लागि नेपाल मेडिसिटीले प्रिमियर इन्स्योरेन्स कम्पनीसँग मिलेर ‘क्यासलेस स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ।
कार्यक्रम संचालन सम्वन्धमा मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र प्रिमियर इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरे।
यो बिमा योजना लिनेहरु मेडिसिटी अस्पतालको उपचारबाट लाभान्वित हुने छन्। उपचारको क्रममा लाग्ने ९० प्रतिशत खर्च इन्स्योरेन्स कम्पनीले ब्यहोर्नेछ भने १० प्रतिशत मात्र विरामीले ब्यहोर्नुपर्ने उपाध्यायले जानकारी दिए। यसमा सहभागी हुन सबैलाई उनले आग्रह गरे।
वार्षिक १ हजार २ सय ५० रुपैयाँमा ब्यक्तिले ५० हजार रुपैयाँ सम्मको स्वास्थ्य सुविधा लिन सक्ने बिमा कम्पनीले जनाएको छ। त्यस्तै १ हजार ८ सय ७५ भुक्तानी गरेको खण्डमा परिवारले सोही रकमसम्मको स्वास्थ्य सुविधा लिन सक्ने छन्।
इच्छाअनुसार विभिन्न प्रिमियमको ब्यवस्था गरी सबैका लागि अवसर प्रदान गरिएको उपाध्यायले बताए। उनका अनुसार १० लाख सम्मको स्वास्थ्य सेवाका लागि ब्यक्तिले २५ हजार र परिवार सबैको लागि ३७ हजार सम्म वार्षिक प्रिमियम तोकिएको छ।
सो अवसरमा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ न्यूरोसर्जन डा. गोपाल रमण शर्माल ेसरकारी तथा गैह्र सरकारी दुवै क्षेत्रबाट स्वास्थ्य बिमा कार्यक्रमलाई सघन रुपमा ब्यवस्थापन गरी स्थानीय स्तर सम्म पुर्याउन सकेको खण्डमा त्यसले आम नेपालीलाई सहयोग पुग्ने बताए।
वार्षिक रुपमा न्यून रकम जोहो गर्दै जाँदा उपचारमा ठूलो सहयोग अस्पताल र बीमा कम्पनीले प्रदान गर्ने अवस्थाको सिर्जना हुनुले स्वास्थ्य क्षेत्रलाई सुरक्षित तुल्याउने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए।