नर्भिक हस्पिटलले मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ।
अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार अस्पतालमा आयोजित विशेष समारोहमा उनीहरुलाई अभिनन्दन गरिएको हो। समारोहमा प्रमुख अतिथि अनुराधा कोइरालाले दीर्घ सेवा गरेका चारजना कर्मचारी तथा विभिन्न विधाका चिकीत्सकलाई सम्मान र अभिनन्दन गरिन्।
रजत महोत्सवको अवसर पारेर अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरेको छ। उक्त सेवाको प्रदेश प्रमुख कोइरालाले उद्घाटन गरिन्।
पच्चीस वर्षे यात्रामा नर्भिकले पार गरेका विविध आरोह अवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’ को पनि प्रदेश प्रमुख कोइरालाले विमोचन गरिन्।
समारोहका सभापति एवं अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले मुलुकभित्रै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल स्थापना भएको बताउँदै नर्भिकलाई सोही अनुरुप विकास गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको जानकारी दिए।
अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई मूल मर्म एवं धर्म मानेर आफूहरुले इमानदारीपूर्वक काम गरिरहेको बताइन्।