लमजुङको सुन्दरबजारका धेरैजसो महिलाहरूमा पाठेघरको समस्या देखिएको छ।
अल्का अस्पताल र एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले सुन्दरबजारमा गरेको नि:शुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका धेरै जसो महिलाहरूमा पाठेघरको समस्या देखिएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर नुतन शर्माले जानकारी दिइन्।
२ सय १५ जनाभन्दा बढीको स्वास्थ्य जाँच गरिएकोमा २ जनामा मात्र पाठेघरको समस्या थिएन।
बाँकी सबैको पाठेघरमा घाउ देखिएको डाक्टर शर्माले जानकारी दिइन्। त्यसमा १५ जना जति महिलाहरूको पाठेघरमा जटिल प्रकारको घाउ देखिएको थियो।
'जाँचका क्रममा सानो र ठूलो गरी सबैको पाठेघरमा घाउ देखिएको छ,' डाक्टर शर्माले भनिन्।
गाउँघरमा जनचेतनाको कमीका कारण नै उनीहरूको पाठेघरमा घाउ भएको डाक्टर शर्माले बताइन्।
डाक्टर शर्माका अनुसार निरन्तर ढाड दुख्ने, तल्लो पेट दुख्ने, पिसाब पोल्छ, योनीबाट फोहोर पानी बग्ने, बगेको पानी धेरै गन्हाउने, योनी चिलाउने पाठेघरको क्यान्सरको लक्षणहरू हुन्।
‘ढाड दुख्यो भनेर पेन किलर खाने, नशासम्बन्धी डाक्टरलाई देखाउने धेरै पाइएको छ’, डाक्टर शर्माले भनिन्, ‘त्यो पाठेघरको क्यान्सरको लक्षण हो। त्यसैले नजिकको अस्पतालमा गएर पाठेघरको जाँच गर्नुपर्छ।
ढाड दुख्नेका बिरामीहरूमध्ये ६० प्रतिशत महिलाहरूमा पाठेघरको समस्या रहने गरेको अध्ययनले देखाएको डाक्टर शर्माले बताइन्। पाठेघरको घाउ संक्रमण भएर नै पाठेघरको क्यान्सर हुने हो। यसलाई रोक्न सकिने चिकित्सकहरूले बताएका छन्।
पाठेघरमा रोग लाग्न नदिन खानपिनमा ध्यान दिनुपर्ने डाक्टर शर्माले बताइन्। नेपालीले खाने खानामा बढी कार्बोहाइट्रेड मात्र हुने र प्रोटिन चाहिने उनले बताइन्। अण्डा, माछा, मासु ,गेडागुडी, दही, पनिरमा बढी प्रोटिन हुने उनले बताइन्। खानामा पनि सागसब्जीलाई बढी प्राथमिकता ध्यान दिनुपर्ने उनले बताइन्। उनले खानाको मात्र कम गर्न पनि आग्रह पनि गरिन्।
डाक्टर शर्माले गोप्य अंगहरू सफाइमा पनि ध्यान दिए संक्रमण नहुने बताइन्। योनीहरू चिलाए डिटोल पानीले सफा नगर्ने र सफा पानीले मात्र सफा गर्न उनले आग्रह गरेकी छिन्।
कटनको अन्डरवेयर मात्र लगाउँदा राम्रो र सिन्थेटिकको अन्डरवेयर लगाउँदा योनी चिलाउने गरेको उनले सुनाइन्। महिनावारी भएको बेलामा सरसफाइमा बढी ध्यान दिनुपर्ने डाक्टर शर्माको सुझाव छ।
महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्ने र प्याड चार/चार घन्टामा फेर्नुपर्ने उनले बताइन्। गाउँघरमा महिनावारी हुँदा कपडाहरू राख्ने हुँदा त्यसले संक्रमण झन बढाउने डाक्टर शर्माले बताइन्।