नेपालमा एक सयमध्ये करिब ५५ जना शिशुलाई जन्मेको एक घण्टाभित्रै स्तनपान गराइन्छ। तथापी, पहिलो एक घण्टाभित्र स्तनपान नगराइने बाँकी शिशुको जीवन भने मृत्यु र रोगको उच्च जोखिममा हुने र उनीहरुले निरन्तर रुपमा स्तनपान गर्ने सम्भावना पनि कम हुने युनिसेफ र विश्व स्वास्थ्य संगठनको नयाँ प्रतिवेदनले देखाएको छ।
संसारभर जन्मेको पहिलो घण्टामै स्तनपान नगराइने शिशुको संख्या ७ करोड ८० लाख छ। यो पाँचमध्ये तीन शिशुको संख्या हो। यीमध्ये धेरै शिशु निम्न र मध्यम आय भएका देशका छन्।
प्रतिवेदनले जीवनको पहिलो घण्टामा स्तनपान गराएका नवजात शिशु जीवित रहने सम्भावना धेरै हुने देखाएको छ। केही घण्टामात्र ढिलो स्तनपान गराउनाले पनि जीवन जोखिममा पार्न सक्छ। आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध र विगौती दूध उत्पादनमा सहयोग पुग्छ। विगौती दूध एकदमै पोषिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ को रुपमा पनि लिइन्छ।
‘जब स्तनपान सुरुवातको कुरा आउँछ, समय नै सबथोक हो यो जीवन र मृत्युको सवाल पनि हुन सक्छ’, युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा एच. फोरले भनिन्, ‘अझै पनि हरेक वर्ष लाखौं नवजात शिशु प्रारम्भिक स्तनपानको फाइदाबाट बञ्चित हुन्छन् र यसका प्रायः कारण हामीले परिवर्तन गर्न सक्ने खालका छन्। आमाहरुले शिशु जन्मेपछिका केही महत्वपूर्ण मिनेटहरुमा स्तनपानका लागि चाहिने पर्याप्त सहयोग प्राप्त गर्दैनन्। कतिपय अवस्थामा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि नयाँ आमाहरुलाई सहयोग गर्दैनन्।’
शिशु जन्मेको पहिलो एक घण्टामा स्तनपान गराउने दर पूर्वी तथा दक्षिणी अफ्रिकामा सबैभन्दा धेरै (६५ प्रतिशत) र पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा सबैभन्दा कम (३२ प्रतिशत) भएको प्रतिवेदनमा उल्लेख छ। बुरुण्डी, श्रीलंका र भेनुआतुमा १० जना शिशुमा ९ जनाले पहिलो एक घण्टाभित्र स्तनपान गर्न पाउँछन् भने अजरबैजान, चाड र मोन्टिनिग्रोमा जन्मिने १० जना शिशुमा २ जनाले मात्र पहिलो एक घण्टाभित्र स्तनपान गर्न पाउँछन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार, जीवनको पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश नं. ७ मा सबैभन्दा धेरै (७०.७ प्रतिशत) छ भने प्रदेश नं. २ मा सबैभन्दा कम छ (४५.३ प्रतिशत) छ। प्रदेश नं. २ मा जन्मिएका शिशुमध्ये लगभग आधालाई उनीहरुको जीवनको पहिलो तीन दिनमा मह, पानी, अन्य दूधजस्ता पदार्थ खुवाइने गरिएको छ।
‘स्तनपानले बालबालिकालाई उनीहरुको जीवनको उत्कृष्ट शुरुवातको सम्भावना दिन्छ’, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस ऐडानाम गेबरेयेससले भने, ‘हामीले आमाहरुलाई दिइने सहयोग तत्काल बढाउनुपर्छ। यो सहयोग परिवारका सदस्य, स्वास्थ्यकर्मी, रोजगारदाता र सरकारबाट हुन सक्छ।’
क्याप्चर दी मोमेन्ट नामको प्रतिवेदनले ७६ वटा देशको तथ्यांक विश्लेषण गरेको छ। जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने कुरा महत्वपूर्ण भएपनि, धेरै नवजात शिशु विभिन्न कारणले गर्दा स्तनपानको लागि लामो समय प्रतिक्षा गर्न बाध्य छन्।
केही कारण यस्ता छन्ः
१. विगौती दूध फाल्ने, मह चटाउने वा स्वास्थ्यकर्मीले चिनी पानी वा फर्मुलाजस्ता तरल पदार्थ खुवाउने अभ्यासले गर्दा शिशुलाई उसको आमासँग पहिलो महत्वपूर्ण सम्पर्कमा ढिलाइ भएको छ।
२. सी–सेक्सन (शल्यक्रिया) बाट बच्चा जन्माउने छनोटः नेपालमा सन् २०११ देखि २०१६ सम्ममा शल्यक्रियाबाट बच्चा जन्माउने दर झण्डै दुई गुणा भएको छ र यो ४.६ प्रतिशतबाट ९ प्रतिशतमा पुगेको छ। सी–सेक्सनबाट जन्मिएका शिशुहरुमध्ये एकतिहाईभन्दा कमलाई मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइएको थियो। सामान्य प्रसूतिबाट जन्मिएका शिशुमा यो संख्या करिब दुईतिहाइ छ।
३. आमा र नवजात शिशुलाई दिइने हेरचाहको गुणस्तरमा कमजोरीः प्रतिवेदनअनुसार, दक्ष प्रसूतिकर्मीको उपस्थितिमा मात्र बच्चा जन्माउनाले जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दरमा खासै प्रभाव पारेको छैन। सन् २००६ देखि सन् २०१६ सम्म नेपालमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने क्रम ३९ प्रतिशत (१८ बाट ५५) बढेको छ। तर एक घण्टाभित्रै स्तनपान गराउने दर भने २० प्रतिशत (३५ बाट ५५) मात्र बढेको छ। धेरै अवस्थामा, शिशुलाई जन्मनासाथ आमाबाट टाढा राखिन्छ र स्वास्थ्यकर्मीको सल्लाह निकै सिमित छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार, अघिल्ला अध्ययनले जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सुरु गरिएका शिशुको तुलनामा जन्मेको दुईदेखि २३ घण्टाभित्र स्तनपान गराएका शिशुले ज्यान गुमाउने जोखिम ३३ प्रतिशत बढी हुने देखाएका छन्। एक दिन वा त्योभन्दा पछि स्तनपान सुरु गराइएका शिशुमा यो जोखिम दुई गुणा बढी हुन्छ।
प्रतिवेदनले सरकार, दातृ संस्था र अन्य निर्णयकर्तालाई शिशुका लागि उत्पादन गरिएका फर्मुलाको बजारीकरण र आमाको दूधलाई प्रतिस्थापन गर्ने अन्य पदार्थमा कडाइ गर्न कडा कानूनी कदम चाल्न माग गरेको छ। नेपालमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ ले स्तनपानको संरक्षण र सम्वर्द्धन तथा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको बिक्री वितरण नियमित गरी बच्चाहरुका लागि सुरक्षित एवं पर्याप्त पोषण व्यवस्था गर्ने उद्देश्य राखेको छ।
विश्व स्वास्थ्य संगठन र युनिसेफको नेतृत्वको विश्वव्यापी स्तनपान मञ्चले सन् २०१८ को विश्वव्यापी स्तनपान स्कोरकार्ड सार्वजनिक गरेको छ। यसले स्तनपान नीति र कार्यक्रम प्रगतिको निगरानी राख्छ। यसले संसारभरका मुलुकलाई शिशु जन्मेको पहिलो एक घण्टामै स्तनपान सुरु गर्न सघाउन र उनीहरुले चाहेको समयसम्म जारी राख्न नीति र कार्यक्रम विकास गर्न प्रोत्साहन गर्छ।
(डाटा तथा इन्फोग्राफिक्स स्रोतः युनिसेफ)