बिरामी अवस्थामा भेटिएका ७२ बर्षीय बेवारिसे बृद्धलाई नोबेल हस्पिटल बिराटनगरका सञ्चालक डा.सुनिल शर्माले उद्धार गरेका छन्।
प्रयोगबिहीन अवस्थामा रहेकोे टहरामा छटपटाइरहेको अवस्थामा उनको उद्धार गरिएको हो।
उनको नोबेल हस्पिटल बिराटनगरमा उपचार भइरहेको छ।
बृद्धको छातिमा समस्या देखिएकाले सोही बमोजिम उपचार भईरहेको उपचारमा संलग्न बरिष्ठ छाति तथा फोक्सो रोग बिशेषज्ञ डा.रामहरि घिमिरेले जानकारी दिए । उनका अनुसार उपचारका क्रममा बृद्धको स्वास्थ्यमा सुधार देखिएको छ ।
धेरै बिपन्न बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाईसकेका डा.शर्मालाई स्थानीयले बृद्धको अवस्था बारे खबर गरेका थिए। खबर पाउने बित्तिकै टोली घटनास्थल पुगेर उद्धार गरेको डाक्टर सुनिल शर्माले बताएका छन्।
औषधि उपचार, हेरचार र खानपिनको ब्यवस्था पनि डा.शर्माले मिलाएका छन्। स्वास्थ्यमा सुधार भएपछि आफन्त पत्ता लगाई परिवारमा बुझाउने डाक्टरको भनाई छ।