नोबेल शिक्षण अस्पतालले मोरङमा निःशुल्क स्वास्थ्य शिविर मार्फत ३ हजार ५ सय ४० बिरामीको उपचार गरेको छ।
मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर गरी उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ।
कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ३ सय २७ जनाले उपचार सेवा लिएको जनाइएको छ।
बेलवारी नगरपालिकाको बिहिबारेमा ६ सय ८ जनाले उपचार गराएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए। उनकाअनुसार शिविरमा उपचार सम्भव नभएका ५५ जनालाई अस्पताल रिफर गरिएको छ।
त्यस्तै, बुढिगंगा गाउँपालिका सुकचरमा ४ सय ३२ जनाले उपचार गराएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।
ग्रामथान गाउँपालिकाको तेतरियामा २ हजार १ सय ७६ जनाको उपचार गरिएको दाहालले बताए।
उनकाअनुसार शिविरमा हाडजोर्नी, दम, रुघाखोकी र आँखामा समस्या भएका विरामी बढी थिए ।
शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरेको थियो।
बिरामीबाट शिविरले राहत दिएको प्रतिक्रिया आईरहेकाले पूर्वका बिभिन्न जिल्लामा निरन्तरता दिईने अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए ।
बिपन्न बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएको नोबेलले गत आर्थिक बर्ष शिविरमार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको दावी गरेको छ।