सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला केन्द्र स्थापना भएको छ। सुर्खेत फिस्टुला केन्द्रको शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गरे।
इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ)अन्तर्गतको फिस्टुला फाउण्डेसन तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको सहयोगमा सुर्खेतमा १७ शैयाको फिस्टुला केन्द्र स्थापना भएको हो।
फिस्टुला केन्द्रका निर्देशक तथा स्त्री रोग विशेषज्ञ डा. सेर्ली हेउडका अनुसार सुर्खेतमा सन २००९देखि शिविरका रूपमा फिस्टुलाको उपचार हुँदै आएको थियो। अब उक्त फिस्टुला केन्द्रबाट जुनसुकै बेला पनि वर्षभरी सेवा दिन सकिने उनले बताइन्।
पौने ६ करोडको लागतमा फिस्टुला केन्द्रको भवन बनाइएको छ भने भवनभित्र आवश्यक १ करोड रुपैयाँ बराबरको सामग्री खरिद् गरिएको छ। फिस्टुला केन्द्रको भवन निर्माणका लागि मध्यपश्चिमाञ्चल क्षेत्री अस्पतालले आफ्नो हाताभित्रको जग्गा प्रदान गरेको छ।
फिस्टुला केन्द्र क्षेत्रीय अस्पतालकै निगरानीमा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खड्काले बताए। फिस्टुला केन्द्रमा स्त्री रोग विशेषज्ञ सहित १७ जना कर्मचारीको दरबन्दी छ।
कर्णाली क्षेत्रका विभिन्न ठाउँमा फिस्टुलाको समस्या महिलाहरु धेरै भएकाले त्यस्ता महिलाहरुको उपचारको लागि आफूले अस्पताल खोल्नेगरि देखेको सपना पूरा भएको फिस्टुला केन्द्रकी निर्देशक तथा स्त्री रोग विशेषज्ञ डा. सेर्लीले बताइन्।
‘म मुगुमा शिविरमा सहभागी हुन गएँ, त्यहाँ एकजा १३ वर्षको उमेरमा विवाह भएर १४ वर्षमा सन्तान जन्मिएको महिला थिइन्,’ उनले भनिन्, ‘उनलाई फिस्टुला भएर श्रीमानले छोडेका रहेछन्, उनको उपचार गर्न काठमाडौं लैजानुपर्ने भयो, यहाँ सस्पताल थिएन काठमाडौं पुर्याउने निकै दु:ख भयो। त्यो देखेर मैँले यहाँ फिस्टुला केन्द्र खोल्ने विचार गरेको थिएँ।’
आफूले विभिन्न निकाय तथा व्यक्तिहरुसंग गरेको आग्रहपछि जुटेको सहयोगका कारण सुर्खेतमा फिस्टुला केन्द्र खोल्न सम्भव भएको डा. सेर्लीले बताइन्।
यो मध्य तथा सुदुरपश्चिम क्षेत्रमा खुलेको पहिलो फिस्टुला अस्पताल हो। सुर्खेत फिस्टुला केन्द्रमा फिस्टुलासम्बन्धी सबै खालको उपचार हुने उनले बताइन्।