नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शिविरमा १ हजार ६ सय १० जना बिरामीको उपचार गरेको आयोजकले जनाएको छ। ग्रामिण क्षेत्रका बिरामीलाई स्वास्थ्य उपचार सेवा दिन बेलवारी नगरपालिका–१ बरडागी र धनकुटा नगरपालिका–१ हिलेमा शिविर सञ्चालन गरिएको हो।
हिलेको शिविरबाट १ हजार १ सय ४५ र बेलवारीको शिविरबाट ४ सय ६५ जनाले उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।
वेलवारीको शिविरमा १ सय १० जनाको भिडियो एक्सरे, २९ जनाको ईसीजी र ६५ जनाको ल्यावटेस्ट गरिएको हो। गम्भीर प्रकृति र शल्यक्रिया गर्नुपर्ने २४ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।
शिविरबाट रिफर भएका बिरामीलाई ५० प्रतिशत छुटमा उपचार गरिने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए।
उनले भने, ‘रिफर भएका सवै बिरामीलाई ५० प्रतिशत छुटमा उपचार गछौँ, अत्यन्तै न्यून आर्थिक अवस्थाका बिरामी भेटिएमा छुटको मात्रा बढाउने वा निःशुल्क उपचार गर्ने गरेका छौ।’
बेलवारीको शिविरमा हाडजोर्नी र छाला सम्बन्धि बिरामी बढी देखिएका छन ।हिलेको शिविरमा दम, हाडजोर्नी, छाला, आँखाका बिरामी बढी रहेको आयोजकले जनाएको छ ।