-अरुणकुमार गु्प्ता
आज विश्व बाथरोग दिवस हो । बाथलाई अङ्ग्रेजीमा आर्थ्रराइटिस भन्ने गरिन्छ ।
तराई तिर यसलाई गठिया पनि भन्ने गरिन्छ । वस्तुगत रुपमा बाथ रोगको सम्बन्धमा विशेष जानकारी र वास्तविक यो रोग कुन विशेषज्ञले हेर्छन्, यो कस्तो किसिमको रोग हो, कसलाई, कुन अवस्थामा हुने गर्छ, यसको कारण के हो, यो निको हुन्छ कि हुदैन, यसका के के लक्षणहरु हुन्छन भन्ने सवालमा अहिले पनि हामीले बुझिराखेको अवस्था छैन ।
यसले मानव शरिरको अस्थिपञ्जर प्रणालीलाई विशेषत प्रतिनिधित्व गरेको हुन्छ ।
शरिरको कुनै पनि हाडजोर्नी, माशपेशी, छाला, नशा दुखेर उत्पति हुने रोग हो बाथ । यसले हाडजोर्नी बाहेक शरिरको कुनै पनि भित्री अंग जस्तै मुटु, मृगौला, फोक्सो, टाउको (मस्तिस्क), कलेजोलाई पनि हानी गर्दछ ।
यस रोगलाई हेर्ने चिकित्सकलाई र्हूमाटोलोजिस्ट भन्ने गरिन्छ । बाथ पनि एउटै किसिमको हुदैन । सयौ भन्दा बढी किसिमको हुने गर्छ तथा रोगहरुको लक्ष्णहरुलाई छुट्याई विभिन्न बाथहरुको नामाङ्कन र विशेषताहरुलाई हेर्ने गरिन्छ ।
अहिलेसम्म सयौ भन्दा बढी बाथ रोग भएको पाइएको छ । कुन मानिसलाई कुन किसिमको बाथ भएको हो, समयमै पत्ता लगाई उपचार गर्ने गरिन्छ । हरेक बाथका आ– आफ्ना लक्षण तथा कारणहरु हुने गर्छन् । बाथ रोगसँग लड्न प्रतिरोधात्मक प्रणालीको गडबडीले हुने गर्छ । अर्थात प्रत्येक मान्छे भित्र रोगसँग लड्ने एक किसिमको क्षमता हुन्छ तर यस रोगले त्यसकै विरुद्दमा शरीरलाई नै हानिकारक गर्ने असमाजिक तत्वहरु जसलाई एन्टीबडि भन्ने गर्छाै, त्यस्तो किसिमको तत्वहरुको उत्पत्ति गराएर शरीरका विभिन्न भागको हाड, र्जोनी र कार्टिलेजहरु नष्ट गर्ने गर्छ। बाथ रोगको प्रतिक्रियाबाट शरीरको प्रतिरोधात्मक क्षमता कम गरी शरीरलाई नै दुर्बल पार्ने गर्छ ।
समग्रमा भन्दा नेपालीहरुमा ज्यादातररुपमा युरिक एसिड बढेर हुने बाथ, हड्डी खिइने, बाथ कम्मर दुख्ने बाथ, रिडको हड्डीमा हुने बाथ बढी भेटिएको छ । ती मध्ये कतिपय बाथ वंशानुगत पनि हुने गर्छन् । अर्थात एकै परिवारको धेरै जनालाई उक्त रोग भएको हुन्छ ।
बाथ कुनै एक व्याक्ति विशेषलाई मात्रै हुने रोग होइन । यो नवजात शिशु देखि ८०-९० वर्षको उमेर सम्मका जुनसुकै उमेरका व्यक्तिलाई जुनसुकै बेलामा पनि हुनसक्छ । बाथहरुमध्ये साधारणतया बुझिने भाषामा भन्दा बढी हड्डी खाने बाथ हुन्छन् भने अरु मांशपेशी, छाला, आँखा, नसा तथा शरिरको भित्री अंगहरुलाई नै असर गरी उत्पन्न हुने बाथहरु पनि हुन्छन् ।
प्रायः बाथका रोगी हामी सँग आउँदा दुखाईको समस्यासहित आउने गर्छन् । सबैमा हाडजोर्नी दुख्ने, सुन्निने, फुल्ने, समस्या देखिन्छ । बिरामीहरुमा बिहान उठ्दा हातका औला, जोर्नीहरु कक्रक्क पर्ने, साह्रो हुने, मुठ्ठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जाम भए जस्तो हुने, हिड्न, बस्न, उठ्नै गाह्रो हुने गर्छ ।
शरीर झमझम गर्ने, मांशपेशीभित्र दुख्ने, ज्वरो आउने, कपाल झर्ने, चिसोपानीमा हात राख्दा छालाका रंग परिवर्तन हुने, शरीरमा राता निला सानासाना टाटाहरु आउने, छाला तन्किने, औलामा घाउ आउने, घाममा जाँदा पुतलीको प्वाख जस्तो गाला रातो डाम आउने, मुखमा घाउ आउने आदि हुन्छन् । उकालो–ओरालो गर्दा र भ¥याङ् चढ्दा हड्डीहरु द्युख्ने गर्छन् । ती एकै किसिमको बाथको आ–आफ्नो लक्ष्णहरु हुन् ।
बाथ बाल–बालिका तथा सानै उमेरमा पनि लाग्ने गर्छ । कतिपय राम्रा बाथहरुले वर्षौ पीडा दिइरहेका हुन्छन्, त्यसका बाबजुद पनि तिनले शरीरलाई घातै गर्नेगरी हानी गर्दैनन् । तर नराम्रा बाथहरुले केही दिन, महिना र वर्षदिन भित्रै हड्डी बाङ्गिने र त्योसँगै मुटु, मृगौला, आँखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरी घात पुर्याउँदछन् । तसर्थ बाथलाई हामीले हाडजोर्नी दुख्ने रोग मात्र भनेर पनि बुझ्नु हुदैन । यसले शरीरको कुनै अंगलाई आन्तरिक रुपमा क्षति गराइदिन सक्छ ।
करिब दशक अगाडिको स्थिति र अहिलेको स्थितिमा धेरै फरक आइसकेको छ । धेरै जसो मान्छेले बाथलाई रोगको रुपमा नभई अभिशापको रुपमा बुझ्ने गर्थे । तर हिजो आज यस रोग प्रतिको धारणा बदलिइसकेको छ र मानिसहरुमा बाथ पनि एक किसिमको रोग हो र यसको उपचार गरेपछि निको हुन्छ भने बुझाई बढेको छ । बाथ न त अभिशाप हो, न त श्राप नै ।
विज्ञान र प्रविधिको प्रगतिले गर्दा हाम्रो हातमा नयाँ नयाँ औषधि र उपचार पद्वितिहरु आइसकेका छन् । यो रोगको उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहन्छ भने कति त सतप्रतिशत नै निको हुने हुन्छ । डराउनु पर्देन ।