गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्रिएको छ ।
उपकरणले ‘सिटिए कोरोनरी’ स्पष्ट रुपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा अजिज उल्लाहले जानकारी दिए।
उनले मुटुसँग जोडिएका नसाको अवस्थाका बारेमा पनि सिटी स्क्यानबाट जानकारी लिन सकिने उल्लेख गर्दै करीब तीन सेकेण्डमा नै इमेज लिन सकिन्छ भने। सात करोड रुपैयाँ लगानीमा भित्र्याइएको उक्त उपकरणबाट मुटुबाहेक, मिर्गौला, फोक्सो, टाउको, घुँडालगायत शरीरको विभिन्न अङ्गको सिटी स्क्यान गर्न मिल्ने बताइएको छ ।
रुपन्देहीको क्रिमसन, एपोलो र भैरहवा मेडिकल कलेजमा १६ स्लाइसको मात्रै सिटी स्क्यान उपकरण रहेको छ ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलका अध्यक्ष एजाज आलमले गुणस्तरीय स्वास्थ्य सेवाका लागि उपकरण भित्रिएको जानकारी दिँदै उपकरण सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन पनि भएको बताए। उनले अमेरिकाको जी कम्पनीबाट एक महीनाअघि मात्रै अस्पतालमा भित्रिएको उक्त उपकरण चार दिनदेखि सञ्चालनमा रहेको समेत जानकारी दिए।
मुटु अस्पतालमा गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, रोल्पा, रुकुमलगायत जिल्लाबाट सेवाग्राही आउँछन्। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा भित्रिएको सो उपकरणको शनिबार प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले उद्घाटन गर्दै छन्।