विश्व सिओपिडी डे
आज विश्व सिओपिडी डे संसारभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। नेपालमा पनि यस रोगबारे चेतनामूलक कार्यक्रम आयोजना भएरहेका छन्। यसै सन्दर्भमा विशेषज्ञ चिकित्सकका रूपमा आमजनमानसमा उपयोगी केही जानकारी समेटेर यो लेख तयार पारेको छु आशा छ यहाँहरू लाभान्वित हुनुहुनेछ ।
मंसिर महिनासँगै नेपालमा जाडो बढेको छ। यो मौसममा विशेषगरी, श्वासप्रश्वास, छातिका रोग र नाक कान घाँटीका समस्या धेरै हुने गर्दछ। जसका कारणले सिओपिडी बिरामी अस्पताल भर्ना हुने क्रम बढेको छ।
खानपानमा सजगता नअपनाउने र धेरै चिसो ठाँउमा बस्दा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र विभिन्न विषाणु र जिवाणु (ब्याक्टेरिया र भाइरस) ले आक्रमण गर्दछन्। वृद्धवृद्धाहरू सिओपिडीको बढी जोखिममा रहने गर्दछन्।
सिओपिडी-क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज खास गरी लामो समयसम्म धुम्रपान गर्ने मानिसमा बढी देखिने गर्छ। नेपालको परिवेशमा भने भान्सामा दाउरा बाल्ने चुल्होबाट निस्कने धूँवामा लामो समयसम्म बस्नेहरूलाई खासगरी महिलाहरूलाई यो रोगले बढी सताउने गरेको छ।
सिओपिडी भएका बिरामीहरूमा खोकी लाग्ने, दम बढ्ने, खकार निस्कने, घ्यारघ्यार हुने, शरीर कमजोर हुने, खान मन नलाग्ने, जिउ दुख्ने र अक्सिजनको मात्रा कम भई छालाको रंग निलो हुने लगायतका मुख्य लक्षण र चिन्ह देखिन्छ। लामो समयदेखि सिओपिडी भएका बिरामीहरूमा सिओपिडीको कारणले मुटुमा समेत असर पार्न सक्छ जसलाई चिकित्साको भाषामा कर-पल्मोनेल भनिन्छ।
सिओपिडीबाट बच्न धुम्रपान पटक्कै गर्नु हुँदैन। भइसकेको अवस्थामा चिसोबाट जोगिनुपर्छ र चिसो मौसममा भाइरस तथा ब्याक्टेरियाहरूको संक्रमण भई रुघाखोकी लाग्ने र न्यूमोनिया हुने समेत सम्भावना रहन्छ यसबाट पनि जोगिनुपर्छ।
सिओपिडी भएका बिरामीहरूलाई रुघाखोकी, निमोनिया लगायतका संक्रमण भएमा दम बढ्ने शरीरमा अक्सिजनको मात्रा कम हुने र विषाक्त कार्बनडाइअक्साईडको मात्रा बढी हुन गई जटिल अवस्था सृजना गराउँछ। यस्ता बिरामीलाई सघन उपचार कक्ष आइसियूमा भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ ।
नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने सिओपिडी वयस्क र वृद्धवृद्धामा देखिने रोगमध्ये सबैभन्दा बढी देखिने रोग हो। यो रोग नेपालमा धेरै जनाको मृत्यु र अशक्तताको कारण समेत भएको छ। यतिमात्र नभएर यस रोगका कारण न्यून आय भएका नेपालीमा थप आर्थिक भार ब्यहोर्नु पर्ने बाध्यात्मक स्थिति सृजना भएको छ।
सिओपिडीको उपचारको कुरा गर्दा नेपालमा रहेका अस्पताल र नेपाली चिकित्सक यसको निदान र उपचारका लागि उत्तिकै दक्ष तथा अनुभवी छन् ।
फेरि पनि सिओपिडीबाट जोगिने मुख्य उपाय धुम्रपान नगर्नू र धुम्रपान गरिआएको छ भने त्यसलाई तत्काल त्याग्नुपर्छ। सिओपिडीका लक्षण देखा परेमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार सुरू गर्नुपर्छ। यसको उपचार विधिमा मुख्यगरी स्वासप्रश्वासको नली फुकाउने औषधि (ब्रोङ्को डाइलरेटर्स) दिने, स्टेरोइडहरु दिने गरिन्छ । कतिपय बिरामीहरुमा यस रोगको कारणले गर्दा शरीरमा अक्सिजनको मात्रा आउनाले घरमा पनि अक्सिजन लिएर बस्नुपर्ने अवस्था आउँछ।
उपचारका क्रममा बिरामीले छातीको संक्रमण कम गराउनको लागि न्यूमोकोकल तथा इन्फ्यूएन्जाको खोपसमेत लगाउनु अपरिहार्य हुन्छ ।
सिओपिडीबारे सामाजिक चेतनास्तर अत्यन्त न्यून भएकाले विभिन्न चेतनामूलक कार्यक्रम सरकारी स्तरमा सञ्चालन गर्ने तथा धुमपान नियन्त्रण कार्यक्रमसमेत अघि बढाउनु पर्छ। धुम्रपान त्याग्नका लागि सहज बनाउने निकोटिन चुइङ्गम तथा निकोटिन प्याच सहज रूपमा उपलब्ध गराउनु पर्छ ।
(राजधानीको ग्रान्डी इन्टरनेशनल अस्पतालमा कार्यरत डा. श्रेष्ठले भारतको नयाँदिल्ली स्थित अल इण्डिया इन्सटिच्यूट अफ मेडिकल साइन्सेजबाट पल्मोनरी मेडिसिन, क्रिटिकल केयर तथा स्लीप मेडिसिनमा डिएम गरेका छन्।)