‘बिरामी भएपछि होइन, बिरामी नहुनका लागि स्वास्थ परिक्षण गरौं’, भन्ने मुल नाराका साथ सम्झना ल्याबोरेटरी क्लिनिकको आयोजनामा आइतबारदेखि २० दिने स्वास्थ्य परीक्षण अभियान सुरू भएको छ ।
ललितपुर महानगरपालिकाकी उप मेयर गिता सन्त्यालले ललितपुर मंगलबार हौगलस्थित सम्झना ल्याबोरेटरी परिसरमा आयोजित कार्यक्रममा परीक्षणको शुभाराम्भ गरिन्।
सम्झनाका अध्यक्ष उर्दिप जोशीले स्वास्थ्य सम्बन्धि सोचमा परिवर्तन आवश्यक रहेकोले बिरामी हुनु भन्दा पहिला नै स्वास्थ्य परीक्षण गर्नु उपयुक्त हुने सन्देश दिनका लागि परीक्षण अभियान सुरु गरेको बताए।
२० दिने अभियानमा ५ हजार जनालाई निःशुल्क परीक्षण सेवा दिने सम्झनाको लक्ष्य रहेको उनले जानकारी दिए। सम्झनाले एक दशकअघि ‘पिसाब जचाउ मृगौला बचाउ’ भन्ने नाराका साथ अभियान चलाएको स्मरण गर्दै त्यसैको निरन्तरताका रुपमा स्वास्थ्य परिक्षण सुरु गरेको जानकारी दिए।
यो २० दिने अभियानमा सम्झनाले थाइराइड फंग्सन टेस्ट, ब्लाड सुगर, डक्टर कन्सुलेसन, डाइबेटिज आइ चेकअप निःशुल्क गर्नेछ । त्यस्तै होल बडी प्याकेज चेकअपमा पनि ५० प्रतिशत छुट दिएको छ।
५ हजार ६ सय पर्ने प्याकेज चेकअप यो २० दिन भर २ हजार ८ सय रुपैयाँमा गरिने सम्झनाले जानकारी दिएको छ।
त्यस्तै सम्झनाले ललितपुर महानगरका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, विकलांग, क्यानसरका विरामी, अंग प्रत्यारोपण र डाइलसिस विरामीलाई नेपालमा हुने ल्याब परीक्षणमा ५० प्रतिशत छुट दिने जनाएको छ।
विदेशमा परीक्षण गर्नुपर्नेमा पनि १५ प्रतिशत छुट दिने सम्झनाले जानकारी दिएको छ। एक्सरे, एमआरआई, युएसजी, इको आदि परीक्षणमा भने २५ प्रतिशत छुट दिइनेछ।
ललितपुर महानगरपालिकाका उपमेयर सत्यालले महानगर सम्झनासँगको सहकार्यका लागि उत्साहित रहेको उल्लेख गर्दै अभियानको सफलताका लागि शुभकामना दिइन् ।
ललितपुर वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले सम्झना र वडा कार्यालयले आउने दिनमा वडा भित्र टोलटोलमा स्वास्थ्य शिविर सञ्चालनका लागि सहकार्य गर्ने योजना रहेको बताए ।
सोही अवसरमा २०३५ सालमा सम्झना ल्याबोरेटरी स्थापना गर्ने मध्येकी एक श्यामादेवी जोशीलाई सम्मान गरिएको थियो । महानगरकी उपमेयर सत्याल र सम्झनाका अध्यक्ष जोशीले उनलाई सम्मान गरेका थिए । स्थापना गर्ने मध्येकी एक विन्दुदेवी जोशीको भने निधन भइसकेको छ।
सोही अवसरमा सम्झना ल्याबोरेटरीले विरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारसहित अन्य सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो ।