सरकारले नेपालमा उत्पादित औषधिलाई गुणस्तरीय बनाउन औषधि जाच्ने आधुनिक प्रविधि प्रयोगशाला निमार्ण गर्ने भएको छ।
देउराली जनाता फर्मास्यूटिकल्स प्रा.लिको २८ औं वार्षिकोत्सवमा औषधि व्यवस्था विभागका महानिर्देशक नाराय ढकालले चिकित्सा शिक्षा अध्ययन संस्था, महाराजगञ्ज र नेपाल सरकारको संयुक्त प्रयासमा प्रयोगशाला निमार्ण गर्न लागेको बताए।
उनका अनुसार नेपाल सकारले यसका लागि ५ करोड रूपैयाँ बजेट छुट्याएको छ। यो रकम आवश्यक इक्युपमेन्ट, तालिम र फर्निसिङ्गमा खर्च गरिने छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली औषधिलाई प्रतिस्पर्धी बनाउन नेपालको आफ्नै औषधि जाच्ने प्रयोगशाला हुनपर्ने उनको भनाई छ।
‘आफ्नै प्रयोगशाला भयो भने राम्रा र गुणस्तरीय औषधिमात्र बजारमा जान्छ,’ उनले भने, यस प्रयोगशालामा टिडिएम र वायोइकोभ्यालेन्स अध्ययन गरिन्छ।’
उनका अनुसार यस प्रयोगशालामा स्वदेशी तथा विदेशी दुवै औषधि जाँचिन्छ। बाहिरबाट आयातित कच्चा पदार्थ र प्रविधि प्रयोग गरेर औषधि उत्पादन गरी नेपालले लाभ लिन नसक्ने हुनाले स्वदेशी कच्चा पदार्थ प्रयोग गरी औषधि उत्पादनमा जोड दिनुपर्ने उनले बताए।
उनले नेपालले औषधि उद्योगमा थोरै समयमा धेरै प्रगति गरेको बताउँदै ठाउँ ठाउँमा रिसर्च सेन्टर समेत हुनुपर्ने बताए। उद्योगका कार्यकारी निर्देशक हरिभक्त शर्माले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने हो भने सरकारले नेपालमा उत्पादन हुने औषधिलाई खुलारूपमा विदेशबाट आयत हुनमा रोक लगाउनु पर्ने बताए।
सरकारले हामीलाई औषधि उत्पादन गर्न नदिई सोही औषधि विदेशबाट आयात गरी बिक्री वितरण गरेको छ। यस्तो परिस्थितिमा देशको औषधि उद्योग कसरी फस्टाउन सक्छ, उनले प्रश्न गरे। ‘उद्योगीहरू नेपालमा उद्योगमा लगानी गर्न चाहन्छन्। भएका उद्योगमा लगानी थप्न चाहन्छन्। यसमा सरकारले उद्योगधन्दा चलाउन सक्ने नीति नियम बनाइदिए हुन्छ’ उनले भने।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको उद्योगधन्दाको लागि सरकारले सहयोग गर्ने बताए। कार्यक्रममा, सरकारी प्रतिनिधि, उद्योगी – व्यवसायी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
देउराली–जनता फर्मास्यूटिकल्स प्रालिको स्थापना २०४५ साल असारमा भएको हो। यसले आफ्नो स्थापनाको दुई वर्ष पछि उत्पादन सुरू ग¥यो।
कुल एक अर्ब ३२ करोड लागतमा सञ्चालन भएको देउराली जनता फर्मास्यूटिकल्सलले ५ सय भन्दा बढीलाई रोजगार दिँदै आएको छ।
कम्पनीको उत्पादन क्षमता प्रति सिफ्टमा झोल औषधी १५ लाख लिटर, ट्याव्लेट १२ करोड गोटा, क्याप्सुल ८ करोड ५० लाख गोटा, ड्राइ पाउडर र ओआरएस ३ लाख केजी र मल्हम १ करोड ट्यूव रहेको छ। हाल कम्पनी ६० प्रतिशत क्षमतामा मात्र सञ्चालन हुँदै आएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले नेदरल्याण्डको गुणस्तर निर्धारण गर्ने संस्था डीएनभीबाट २०६० साल मंसिर २१ गते आइएसओ १४००१ र आइएसओ ९००१को प्रमाणपत्र प्राप्त गरेको छ।
देउराली जनता फर्मास्यूटिकल्सले विश्व स्वास्थ्य सङ्गठनको निर्देशन अनुसार अत्याधुनिक उपकरणबाट उच्च गुणस्तरीय करिब साढे ३ सय प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ।
साथै कम्पनीले मुटु रोग, नसा सम्बन्धी रोग, मधुमेह, चर्मरोग लगायतका औषधि पनि उत्पादन गर्दै आएको छ।
नेपालमा हाल ५३ वटा औषधि उद्योग सञ्चालनमा छन्। त्यसमा १५ वटा उद्योग थपिने भएको कम्पनीले जानकारी दिएको छ।