बाजुराका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालन भएको पाइएको छ।
औषधि व्यवस्था विभागमा दर्ता नै नगरी आफूखुशी औषधि पसल सञ्चालन गरिरहेको पाइएको हो। औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसार हाल बाजुरामा २० औषधि पसल मात्रै दर्ता गरिएका छन् ।
औषधि पसल तथा मेडिकलको नामले अधिकांश अवैध र अनुमतिबिनै सञ्चालनमा रहेका नेपाल फार्मेसी सङ्घ बाजुराका सचिव भरत बुढाले बताए। बुढाका अनुसार जिल्लामा ३०० बढी औषधि पसल अवैध रहेको दाबी छ ।
जिल्लाका नौ स्थानीय तहका ६९ वडाका प्रत्येक गाउँमा औषधि पसल सञ्चालनमा रहे पनि दर्ताको सङ्ख्या धेरै कम रहेको सचिव बुढाको भनाइ छ। बाँकी सबैले अवैध कारोबार गरिरहेको र राज्यलाई खुलेआम ठगिरहेको आरोप फार्मेसी सङ्घको छ ।
मानव स्वास्थ्यजस्तो संवेदनशील विषयलाई ख्यालै नगरी पैसा कमाउने नाममा औषधि पसल खुलेको जनगुनासो बढ्न थालेको छ ।
भर्खर सिकेका र आवश्यकभन्दा बढी मात्रा औषधि दिने र तत्कालका लागि निको भएको जस्तो देखाउने औषधि बिक्रेताका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्वास्थ्यकर्मीको भनाइ छ।
फार्मेसी विषय पढेर विभागबाट अनुमति लिएको व्यक्तिले मात्र औषधि पसल राख्न पाउने व्यवस्था छ । तर जिल्लामा ग्रामीण स्वास्थ्य कार्यकर्तादेखि सिएमए, अनमी पढेकाले समेत औषधि पसल खोलेर अवैध कारोबार गरिरहेका छन् ।
औषधि व्यवस्था ऐन, २०३५ विपरीत निजी मेडिकल तथा फार्मेसी सञ्चालन गरिरहेको भए पनि स्थानीय प्रशासन मौनजस्तै देखिएको छ।
मेडिकलको हकमा औषधि व्यवस्था विभागको कार्यालय नेपालगञ्जले नियमन र निगरानी गर्ने प्रावधान छ ।
सबै अधिकार औषधि व्यवस्था विभागको भएकाले जिल्ला तहबाटै समाधानको सम्भावना कम हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा रुपचन्द्र विश्वकर्मा बताउँछन्। दर्ता गरेरै सञ्चालन गरिएका पसलमा पनि स्वयं व्यक्ति नबस्ने र अरुलाई भाडामा प्रमाणपत्र दिएर चलाउने गरेका सङ्घका बाजुरा अध्यक्ष मोहनराज न्यौपानेको भनाइ छ ।