वीरगञ्जमा निकै नै जटिल उपचार मानिएको मुटु उपचारको एञ्जियोप्लाष्टि सेवा सुरू भएको छ।
वीरगञ्ज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीले शनिबारदेखि सेवाको सुरूआत गरेको हो।
शनिबार अस्पतालले पत्रकार सम्मेलनमार्फत् गंगालाल हृदय केन्द्र बाँसबारीका दक्ष चिकित्सकहरूको सहकार्यमा सो सेवा सुरू गरेको जानकारी दिएको हो।
प्रदेश २ कै आठ जिल्लाका मुटु रोगको लागि प्रदेशमै सुविधा दिन स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको अस्पतालका प्रबन्ध निर्देशक अबुलहैस अन्सारीले जानकारी गराए।
उनले २०६७ सालदेखि विविध सेवा दिइरहेको अस्पतालले मुटु रोगीको लागि यो सेवा सुरू गरेकोमा खुसी व्यक्त गरे। उनले यो सेवाले प्रदेश २ कै मुटुरोगीको लागि फलदायी हुने विश्वास व्यक्त गरे।
गंगालाल हृदय केन्द्र बाँसबारीको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रवि मल्लले गंगालालमा एञ्जियोप्लाष्टि गराउने कतिपय रोगीलाई समस्या हुने भएकोले यदि यो सेवा वीरगञ्जबाट भयो भने निकैको फाइदा हुने बताए।
समयमा अस्पताल नपुग्दै कतिपय मुटुरोगीको ज्यान जाने भएकोले वीरगञ्जमा यो सेवा विस्तारसँगै आम बिरामीको खर्च बचत हुनुको साथै राजधानी ओहोरदोहोरको समस्या पनि टर्ने उनको भनाइ थियो।
हालसम्म अस्पतालले मुटुको नशा ब्लक भएको वा नभएको हेर्ने विधि एन्जियोग्राफीको नतिजा अनुसार २९ जनामा नशा ब्लक भएको पाइएको तथा काठमाडौंमा उपचार गराउन जाने बिरामीमध्ये प्रदेश २ कै ८० प्रतिशतमा देखिने भएकोले सो सेवाको आवश्यकता महशुस भएको डाक्टरहरूले औंल्याएका थिए।