बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत अन्तिम सातादेखि आफ्नै औषधालय सञ्चालनमा ल्याउने भएको छ ।
क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै औषधालयपछि सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने जनाइएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार चैत अन्तिम सातादेखि औषधालय सञ्चालन गर्ने गरी तयारी भइरहेको छ। फार्मेसीमा काम गर्ने १० जना कर्मचारी नियुक्त भइसकेको बताउँदै उनले तीन ठाउँमा औषधालय सञ्चालन हुने जानकारी दिए। चौबिसै घण्टा फार्मेसी सञ्चालन गरिनेछ ।
सञ्चालक समितिले औषधि खरीदका लागि बोलपत्र स्वीकृत गरिसकेको छ । निर्देशक आचार्यका अनुसार अस्पतालको आफ्नै फार्मेसी भएपछि ६० प्रतिशतसम्म सस्तोमा औषधि बिरामीले पाउने छन् । अस्पतालमा हाल रहेको साझाको औषधालयले औषधि बिक्री गर्दै आएको छ ।
अस्पतालमा आउने बिरामीले भित्ररहेका औषधालयबाट एक वर्षमा २० करोड हाराहारीको केमो मात्र खरीद गर्ने गरेको उनको भनाइ छ । महँगो केमोबाट हाल बिरामी ठगिएको गुनासो आउने गरेका छन् । आफ्नै औषधालय भएसँगै यो समस्या हल हुने विश्वास अस्पतालले लिएको निर्देशक आचार्यले बताए।