जन्डिसबारे नेपालीहरूमा गलत धारणा छन्। जन्डिस किन हुन्छ देखि यो कसरी निको हुन्छ भन्नेबारे तिनै गलत धारणा रहेर बिरामीले दु:ख पाउँछन्। जन्डिस कुनै रोग होइन। पेट दुख्नु, ज्वरो आउनु भनेजस्तै जन्डिस पनि विभिन्न रोगमा देख्न सकिने लक्षणमात्रै हो।
जन्डिस भएको कसरी थाहा हुन्छ ?
जन्डिस भएको दुई तरिकाले थाहा हुन्छ। आँखा पहेँलो भयो भने जन्डिस भएको हुन सक्छ। रगत जाँचेर पनि जन्डिस भए/नभएको पत्ता लाग्छ।
रगतमा बिलिरूबिन भन्ने तत्वको मात्रा बढी भयो भने त्यसलाई जन्डिस भनिन्छ। सामान्यत: मानव शरीरमा बिलिरूबिनको मात्रा १ भन्दा कम हुन्छ। जब यो बढ्दै जान्छ तब यसलाई जन्डिस भनिन्छ।
आँखामा पहेँलो देखिन कम्तिमा पनि दुईभन्दा माथि बिलिरूबिन हुनुपर्छ। यो तीनभन्दा माथि भयो भने राम्रोसँग देखिन्छ। बिलिरूबिन दुईभन्दा तल हुँदा पनि जन्डिस हुन्छ तर बाहिर देखिँदैन।
जन्डिस रोग होइन
जन्डिस कुनै रोग होइन। यो विभिन्न रोगमा देखिने एउटा लक्षणमात्रै हो।
जन्डिसको कुनै उपचार हुँदैन किनकी यसको उपचार नै गर्ने होइन। जन्डिस के कारणले भएको हो त्यसको उपचार गर्नुपर्छ अनिमात्रै जन्डिस निको हुन्छ। कतिपय यस्ता रोगहरू छन् जसमा जन्डिस देखिन्छ।
हेपटाइटिस ए भन्ने रोग जोसुकैलाई लाग्न सक्छ। तर हाम्रो देशमा १५ वर्षमूनिकालाई यो रोग लाग्छ। हेपाटाइटिस लागेमा जन्डिस देखिन्छ। तर यो जन्डिसको उपचार केही पनि छैन। खानेकुरा राम्रोसँग खान दिएर उसलाई अरू कुनै कुरा हुनबाट जोगाउने हो भने आफैं निको हुन्छ।
तर हाम्रो समाजमा जन्डिस भएपछि उपचार गर्न विभिन्न ठाँउमा जान्छन्। जन्डिसको उपचार भन्छन्, निको पारें पनि भन्छन्। खासमा जन्डिस आफैं निको हुन्छ। आफैं निको हुनेमा हेपाटाइटिस ई पनि पर्दछ। यो वयस्कहरूमा देखिने रोग हो। यसमा पनि जन्डिस हुन्छ र साधारणत: आफैं निको हुन्छ।
जन्डिसमा मुख बार्नु भनेको श्राद्धमा बिरालो बाँध्नुजस्तै हो। जन्डिसमा कुनै पनि खाना नखाने भन्ने हुँदैन। पित्तको नलीमा ढुंगा भयो भने जन्डिस हुन्छ। यो जन्डिस निको पार्न त्यो ढुंगा निकाल्नै पर्छ। त्यो ढुंगा ननिकालेर १ वर्षसम्म खाना बारेमा जन्डिस निको हुँदैन बरू खाना नखाएर विभिन्न रोग बिग्रिन्छन्। मानिसले जन्डिस बिग्रियो भन्छन् तर जन्डिस बिग्रिने भन्ने कुनै कुरा हुँदैन।
हाम्रो शरिरमा प्यानक्रियाज भन्ने अंग छ, त्यसको क्यान्सर हुँदा जन्डिस हुन्छ। प्यानक्रियाजको क्यान्सरलाई जडीबुटी खाएर पनि निको हुँदैन,खाना बारेर पनि निको हुँदैन। प्यानक्रियाज क्यान्सरको उपचार नगरिकन निको हुँदैन। क्यान्सर भएको मान्छेले खाना बार्न थाल्यो भने उसको हालत के होला?
नेपाली धेरैको बुझाइ के छ भने कलेजो बिग्रियो भने जन्डिस हुन्छ। कलेजोबाहेक अन्य रोगहरू पनि छन्, त्यसले पनि जन्डिस हुन्छ। रगतमा संक्रमण भएर हुने ‘सेफ्सिस’का कारणले पनि जन्डिस हुन्छ। कसैलाई मुटुको रोगले पनि जन्डिस हुन्छ। मुटु कमजोर भएर रगत पम्प गर्न सकेन र कलेजोमा रगत जान सकेन भने पनि जन्डिस हुन्छ। यस्तो बेलामा त जन्डिस झन् धेरै देखिन सक्छ। यस्तो जन्डिसका लागि मुटुको रोगको उपचार गर्नुपर्छ।
जन्डिसको उपचार
जन्डिस लाग्यो भन्ने भन्दा पनि यो रोगका कारण जन्डिस लागेको हो भनेर उपचार गरियो भने निको हुन्छ।
जन्डिसका बिरामी एलोप्याथिक डाक्टरभन्दा आयुर्वेदमा अथवा बिभिन्न बोर्ड राखेका ठाउँमा जान्छन्।
यो गलत प्रवृत्तिलाई न हामीले हटाउन सकेका छौं न सरकारले नै रोक्ने प्रयास गरेको छ। धेरैजसो जन्डिस हेपटाइटिस ईले हुन्छ। हेपटाइटिस ई लाग्दा खाना राम्रोसँग खानुपर्छ तर खाना बार्ने गरिन्छ। जे पायो त्यही औषधी,जडीबुटी र झारपात खाने गरिन्छ। हेपटाइटिस ई लाग्दा कलेजो कमजोर हुन्छ। त्यो कमजोर कलेजोलाई अरू अप्रषोधित औषधी खान दिँदा झन् बिग्रिन्छ। खाना बार्नाले र नचाहिँदो औषधी खाँदा कलेजो झन बिग्रिन्छ। यदि समयमै यो रोगको निदान गर्ने हो भने राम्रोसँग खाना खानुपर्छ।
जन्डिसको उपचार छैन भन्नुको अर्थ जन्डिस लागेपछि घरमा चुप लागेर बस्नुस् होइन। जन्डिस लागेपछि सबैभन्दा पहिला कारण थाहा पाउनुस्।
कहिलेकाहीँ क्षयरोगको औषधीले पनि जन्डिस हुन सक्छ। त्यस्तो बेला जुन औषधीले जन्डिस भएको त्यसलाई रोक्नुपर्छ। जन्डिसको उपचार होइन जन्डिस गराउने रोगको उपचार गर्ने हो।
जन्डिस लाग्नेबित्तिकै सिधै चिकित्सककहाँ आउनुस् भन्ने मेरो आग्रह छ।
जन्डिस देखियो भने घर वरपर नपढेका डाक्टरहरूको उत्पत्ति हुन्छ। फलानोले मेवा खाएर जन्डिस निको पार्यो, उखुको रसले निको बनायो भन्छन्। चाहिने/नचाहिने सल्लाह दिन्छन्।
जन्डिस हुँदा जाँडरक्सी भने खानु हुँदैन। यदि खायो भने मृत्युसमेत हुन सक्छ।
सामान्य खाना जति खाए पनि हुन्छ। जन्डिस भएको बेलामा पानी धेरै खानु पर्छ भन्ने मान्यता छ यो पनि गलत हो। लिभर सिरोसिस लागेर जन्डिस भएको छ भने उसको पेटमा पानी जमेको हुन सक्छ। पेटमा पानी जमेको बेलामा अझै बढी पानी खायो भने बिरामीलाई झनै पीडा हुन्छ। त्यसैले जन्डिस भएपछि सबैभन्दा पहिला चिकित्सककहाँ गएर सल्लाह लिनुको सबैभन्दा बुद्धिमानी विकल्प हो।
( प्रा.डा. सुधांशु केसी-वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्)