मृगौलाको डायलाईसिस सेवा लिन बुटवल तथा पोखरा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्याङजा जिल्लाको वालिङ नगरपालिकामा डायलाईसिस सेन्टर संचालन हुने भएको छ ।
डायलाईसिस सेन्टर संचालनको लागि वालिङ नगरपालिका र बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबीच सम्झौता गरिएको छ।
सम्झौता अनुसार वालिङ नगरपालिका वडा नंं २ मा रहेको सरकारी भवन (फुलवारी गेष्टहाउस) मा रोटरी सामुदायिक डायलाइसिस सेन्टरको नामबाट सेवा संचालन गरिने छ। सेन्टरका लागि नगरपालिकाले अस्पताललाई निशुल्क रुपमा जग्गा,भवन प्रयोग गर्न दिने भएको छ। सेन्टरको संरक्षकत्व भने वालिङ नगरपालिकाको रहने छ।
उक्त सेन्टर रोटरी क्लव अफ वालिङको सहयोगमा संचालन गर्न लागिएको हो ।सम्झौतामा नगरपालिका र मुटु अस्पताल दुवैले डायलाईसिस सेन्टर संचालनको लागि आवश्यक दर्ता प्रक्रिया र मापदण्ड लयायतका प्रक्रिया पूरा गर्ने सहमती गरेका छन्।
पहिलो पटक १५ वर्षको लागि गरिएको सम्झौता अवधी दुवै पक्षको सहमती र आवश्यकता अनुसार थपघट गर्न पनि सकिने वालिङ नगरपालिकाका प्रमुख दिलीप प्रताप खांडले जानकारी दिए ।
स्याङजाको वालिङ, गल्याङ लगायत आसपासको क्षेत्रमा मृगौलाका विरामीहरुको संख्या उच्च रहेको र सरकारले निशुल्क उपलब्ध गराउंँदै आएको डायलाईसिस सेवा लिन समेत टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै वालिङमा डायलाईसिस सेन्टर संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।
उक्त सेन्टरमा पहिलो चरणमा १० वटा मेशिन जडान गरी बिरामीहरुको डायलाईसिस सेवा शुरु गरिने र आवश्यकता अनुसार मेशिन थप गर्न सकिने अध्यक्ष आलमले बताए ।