चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा पुन: मिर्गौला प्रत्यारोपण भएको छ। करिब चार वर्ष अघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो ।
गत सोमबार प्राडा राकेश बर्माको टोलीको साढे तीन घण्टा लगाएर भक्तपुर -६ निवासी ५४ बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५ वर्षीय आफ्ना भान्जा रिजनवीर जोशीले मिर्गौला दिएका हुन् ।
‘७२ घण्टा भयो, प्रत्यारोपण भएका बतासको स्वास्थ्य सुधारोन्मुख छ। हामी खुसी छौं,’ डा बर्माले भने।
उनले अब दोस्रो केश पनि छिट्टै गर्ने बताए ।
प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा प्रवीण जोशी , डा सुदीपराज केसी, डा भूषण तिमल्सेना, डा माधव घिमिरे, डा वीरेन्द्र यादव लगायतको टोली खटिएको डा बर्माले बताए ।
सोमबारको प्रत्यारोपणपछि उत्साहित भएका डा. बर्माले पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणले नियमितता पाउने दाबी गरे। उनले आफूले अब पुरानो मेडिकल कलेजबाट सेवामा निरन्तरता दिने बताए ।
‘मैले अब यता नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरू भएको हो,’ डा बर्माले भने ।
यसअघि उनी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए । उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताए ।