‘कुनै जमाना थियो क्यान्सर लागेपछि सकियो, यसको केही उपचार छैन भनिन्थ्यो तर आज यसको उपचार सम्भव छ,’ भन्दै भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर विशेषज्ञ, वरिष्ठ डाक्टर प्रभू शाहले कार्यक्रम सुरू गरे।
उनले धैर्य क्यान्सर फाउण्डेसनले काभ्रे रोशी गाउँपालिका, वडा नं ३ स्थित श्रीदेवी माध्यमिक विद्यालयमा क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रमको सुरुवात गरेका हुन्।
खासगरी माध्यमिक तहका विद्यार्थीहरुलाई क्यान्सर सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको आग्रहमा भक्तपुर क्यान्सर अस्पतालबाट क्यान्सर विशेषज्ञ, वरिष्ठ डाक्टर प्रभू शाहको उपस्थिति रहेको थियो ।
डाक्टर शाहका अनुसार सामान्यतया शरीरको कुनै पनि भागमा हुने अनावश्यक सेल वा कोष बृद्धिलाई क्यान्सर भनिन्छ। क्यान्सर लाग्नुको खास कारण यही हो भनेर यकिन भन्न नसकिए पनि सामान्यतया तारेको, भुटेको, ढुसी परेका, रङ मिसाएको र जङ्क फूड जस्ता खानेकुराहरू खानाले र चुरोट, गाँजा, पान, पानपराग, र गुट्खा सेवनबाट क्यान्सर लाग्न सक्ने डाक्टर शाहको भनाइ छ।
त्यस्तै मासुको रातो भागमा हुने हेम भन्ने रसायन र करेन्टबाट पनि क्यान्सर लाग्न सक्छ । क्यान्सरका लक्षणहरूमा शरीरको कुनै भागमा गाँठागुँठी, कोठी वा गिर्खाहरू देखा पर्ने र कुनै अङ्गको आकार र रङमा फरकपना आउने हुनसक्छ ।
खोकी लाग्ने र निको नहुने, छाति दुख्ने, खकारमा रगत देखापर्ने, स्वर धोत्रो हुने वा अर्कै सुनिने, खाना निल्न गार्हो हुने, अपच हुने, बिना कारण शरीरको तौल घट्ने, दिसा पिसाबमा गडवडी र रगत देखिने, दिसा पातलिने, पिसाब पोल्ने, घाउ निको नहुने, ज्वरो निको नहुने, र पाठेघरबाट सेतो पानी बग्ने वा रगत बग्ने क्यान्सका थप लक्षणहरू हुन।
अप्रेसन, रेडियोथेरापी र किमोथेरापी हाल विश्वमा उपलब्ध क्यान्सर उपचारका विधीहरू हुन्। आर्थिक हैसियत बृद्धीसँगै मासु र मदिरा सेवन अत्यधिक रूपमा बढेकोले विगतको तुलनामा अहिले रेक्टल क्यान्सर रोगीहरू बढीरहेको शाहले बताए।
नेपाल लगायत संसारमै बढी रहेको क्यान्सर रोकथामका लागि यस्ता चेतनामूलक कार्यक्रमहरू र बिशेषगरी जीवन शैलीमा परिवर्तन ल्याउनु पर्नेमा उनको जोड थियो।
क्यान्सर प्राणघातक रोग भएपनि समयमै उपचार गरे निको हुने तर धेरै पुरानो भएपछि जटिल हुने उनले जानकारी दिए।
गुगलका अनुसार गाँजा त औषधी हुन्छ रे भन्ने एक सहभागीको जिज्ञासामा कार्यक्रममा उपस्थित अतिथि रसिक किराँतले मनोरञ्जनात्मक रूपमा नभई यसलाई औषधीको रूपमा सेवन गरे फाइदा हुने नत्र असर गर्ने प्रतिकृया दिए ।
क्यान्सर रोग मात्र नभएर यसबाट उत्पन्न हुने डर र त्रासको कारण कतिपय बिरामीहरू एन्जायटी र डिप्रेसनको शिकार भई अल्पायुमै ज्यान गुमाइरहेकाले समयमै उपचार गरे क्यान्सर निको हुन सक्ने तर्फ जनचेतना जगाउने उद्देश्यले आज भन्दा दुई बर्ष पहिले ‘धैर्य क्यान्सर फाउण्डेसन’को स्थापना गरेको संस्थाका अध्यक्ष टिरिसा तामाङले बताइन ।
हाम्रो समाजमा क्यान्सर सरुवा रोग हो र यसको उपचार हुँदैन भन्ने भ्रम रहेकोले पनि यस सम्बन्धी जनचेतना जगाउनु आवश्यक रहेको अध्यक्ष तामाङको भनाइ थियो।
स्थापनाकालदेखि नै विभिन्न ठाउँहरुमा थुप्रै क्यान्सर विशेषज्ञहरुलाई उपस्थिति गराई यस्ता कार्यक्रमहरु सञ्चालन गरिसकिएको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने अध्यक्ष तामाङले व्यक्त गरिन।
सम्पूर्ण सहभागीहरूलाई खाजाको व्यवस्था सहित कार्यक्रममा सहभागी विद्यार्थीहरु र विद्यालयलाई अध्यक्ष तामाङले स्टेशनरी सामानहरु वितरण गर्दै भविष्यमा क्यान्सर रोगीहरूको उपचारका लागि एउटा उच्च स्तरीय क्यान्सर अस्पतालको निर्माण गरि सञ्चालन गर्ने आफ्नो संस्थाको योजना रहेको पनि उल्लेख गरिन्।
कार्यक्रमलाई बेलायत र अमेरिकाको बोस्टनस्थित नेपालीहरुबाट बिशेष आर्थिक सहयोग प्राप्त भएको आयोजकले बताए।