नेपाल आँखा अस्पतालले जलविन्दुको उपचारका लागि ‘लेजर थेरापी’ गर्ने भएको छ।
यो थेरापीका लागि अस्पतालले ‘सुप्रा ८१० इन्फ्रारेड लेजर’ नामक नयाँ मेशिन भित्र्याएको छ। थेरापी मेसिन फ्रान्समा निर्मित ‘क्वान्टेल मेडिकल’को नयाँ संस्करण भएको अस्पतालले जनाएको छ। यो थेरापीको सुरुवात नेपालमै पहिलो पटक गरिएको अस्पतालको भनाइ छ।
अस्पतालका अनुसार यो उपचार पद्धतिले आँखाको भित्री चापलाई घटाई जलविन्दुबाट आँखामा हुने क्षति न्यूनीकरण गर्न मद्दत गर्दछ। यो मेसिनमा जलविन्दुको मात्र नभई ‘ओकुलर ट्युमर’ र आँखाको पर्दा सम्बन्धी ‘लेजर थेरापी’ उपचार गर्ने प्रविधि समेत रहेको छ।
विगत केही वर्षदेखि अस्पतालले प्रत्येक ३\३ महिनाको अन्तिम शनिवार जलविन्दुका विरामीहरु र जलविन्दु रोग विशेषज्ञको प्रत्यक्ष रुपमा अन्तरसम्वाद कार्यक्रम संचालनगर्दै आईरहेको छ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेका अनुसार जलविन्दु दृष्टिविहिन बनाउन सक्ने एउटा जटिल समस्या हो। यसको उपचार समयमै गराउन आवस्यक हुन्छ। अस्पतालमा आउने बहुसंख्यक आँखाका विरामीमध्ये धेरैजना अन्तिम अवस्थामा मात्र आईपुग्ने गरेकोले उपचारपछि पनि दृष्टि जोगाउन सकिदैन्।
सालाखाला ४० वर्षको उमेरबाट देखिने यो रोग वंशाणुगत एवं अन्य कारणबाट हुने गरेको घलेले बताए। ‘नेपाल अन्धोपन सर्वेक्षण’को तथ्यांक अनुसार जलबिन्दु अन्धोपनको तेस्रो प्रमुख कारण भएको देखाईएको छ।
आँखाको दृष्टि गुम्नुको कारण आँखा भित्रको चाप बढी दृष्टिका लागि अपरिहार्य नसाहरुमा क्षति पुग्नु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार जलविन्दुको कुनै पूर्व लक्षण देखिँदैन। यसले दृष्टिमा निकै क्षति पु¥याएपछि मात्र रोग लागेको थाहा हुन्छ। ४० वर्षपछि वार्षिक रुपमा आँखाको प्रेसर जाँच गराउने गरेमा समयमै यस रोगबाट हुन सक्ने अन्धोपनालाई कम गर्न सकिन्छ।
हाल नेपाल आँखा अस्पतालमा वार्षिक करिव ४ हजार ७ सय जना जलविन्दु रोग सम्बन्धी विरामीहरु आउने गरेको अस्पतालको तथ्यांकले देखाउँछ। जलविन्दुको रोकथाम उपचार औषधी, शल्यकृया र लेजर थेरापीद्वारा गर्न सकिने अस्पतालको भनाइ छ।