थेरापी भन्ने बित्तिकै एउटा उपचारको प्रविधि भन्ने बुझिन्छ। लेजर विकिरणको प्रयोगबाट गरिने उपचारलाई लेजर थेरापी भनिन्छ।
लेजर विकिरणले रोगी अंगलाई सेकाएर उपचार गर्छ। त्यो विकिरण छालाको माध्यमबाट भित्रि अंगसम्म ६ सेन्टी मिटरसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ।
शरीरका कुनै पनि अंगमा रोग लाग्नु भनेको त्यो अंगका कोषिकाहरू अशक्त हुनु हो। हाम्रो शरीर थुप्रै अंगहरू मिलेर बनेको हुन्छ। हरेक अंगका आफ्नै प्रकारका कोषिकाहरू हुन्छन्। कोषिकाहरू अशक्त भन्नाले सुन्निनु, रक्त सञ्चालन कम हुनु, अक्सिजन र खाद्य पदार्थको कमी हुनु र संक्रमण हुनु तथा चोट लाग्नु हो।
त्यो कोषिका पुनः सशक्त भएर सक्रिय रूपले काम गर्न लेजर विकिरणले मद्धत गर्छ। यसले सुन्निएको घटाउने, रक्त सञ्चालन कम भइरहेको छ भने नलीहरू खोल्दिने बाटो बन्द छ भने अर्को रक्त नली बनाउने काम गर्छ।
कुनै पनि कोषिकाहरू अशक्त हुन थाल्छ भने यो विकिरणले ती कोषिकाहरूलाई सशक्त बनाउँछ। एउटा कोषिका सशक्त भएपछि उसले पहिला जे काम गरेको थियो त्यो काम पुनः गर्न सकेपछि त्यहाँ सामान्य अवस्था हुन्छ।
अरू मेसिनको प्रयोगले जति पनि उपचार हुन्छ त्यसले भित्रसम्म डोज पुर्याउन सक्दैन। लेजर ६ सेन्टिमिटरसम्म जान्छ भने त्यति भित्रसम्म गएर हरेक बिग्रेको सेल्सलाई निको पार्ने आफ्नै अवस्थामा फर्काएर कार्य गराउने क्षमता राख्दछ।
कस्ता बिरामीले लेजर थेरापी गर्नुहुँदैन ?
आँखामा लेजर थेरापी गर्नुहुँदैन। गर्भावस्था, रक्तअल्पता, ल्युकिमिया र अन्य क्यान्सरका बिरामीले लेजर थेरापी गर्न हुँदैन ।
(डा. सुशिला वैद्य लेजर थेरापी क्लिनिक जावलाखेलकी सञ्चालक हुन्।)