तरकारीमा रहेको विषादी हटाउने भन्दा पनि सबभन्दा राम्रो उपाय यसको प्रयोग नै नगर्ने हो।
हामीकहाँ विषादी चाहिनेभन्दा बढी प्रयोग भइरहेको छ। एकपटक प्रयोग गरेर हुने ठाउँमा पनि किसानहरूले धेरै प्रयोग गरेका छन्।
अर्गानिक विषादीहरू पनि प्रयोग गर्न सकिन्छ। गाईको गहुत,तितेपातेको झोल,निमको पातको रस प्रयोग गर्ने चलन कम छ। छिटो नष्ट भएर जाने विषादी पनि छन्। एक हप्तामा घाम,पानीले त्यसलाई नष्ट गर्न सक्छ। विषादी प्रयोग गरेपछि कम्तीमा हप्ता दस दिन बजारमा पठाउन हुँदैन। हामीकहाँ यो कुराको कमी देखिन्छ।
तरकारीमा प्रयोग भएको विषादी हटाउने समान्य विधि भनेको पानीमा पखाल्ने हो। विषादी दुई किसिमका छन्। एउटा अर्गानो फोसफेट हो भने अर्को कार्बाबेट भन्ने हुन्छ। त्यो अक्सिजन र फोस्फेरसको बोन्ट ब्रेक गर्दियो भने त्यो विषादी,विषादी रहँदैन। त्यसले गर्दा कतिपय अवस्थामा पानीले पनि काम गर्छ। अर्को एसिड र बेसले पनि गर्छ। एसिड अमिलो हुन्छ भने बेस टर्रो हुन्छ। टर्रो हुने मिसाइयो भने खाँदा पनि टर्रो हुने भएर यो खासै प्रयोग हुँदैन। एसिडमा पनि बजारमा पाइने बोतलको एसिड प्रयोग गर्न सकिँदैन। हामीले अर्गानिक एसिड प्रयोग गर्ने हो। जुन खाए पनि फरक पर्दैन। जस्तो कागतीको रस,अमिलोको रस,लप्सीको रसले विषादीलाई टुक्राइदिन्छ।
नुनपानी,कागतीपानी,ब्रेकिङ सोडा,पोटास पानी प्रयोग गरेर पनि विषादी हटाउन सकिन्छ। पोटास पानीलाई धेरै मिलाउनपर्ने भएकाले म यो सिफारिस गर्दिनँ। तर मात्रा मिलायो भने यसले विषादी नष्ट गर्छ।
हामीले धेरै विषादी खाने भनेको सलादजन्य तरकारीमा हो। काँक्रो, गाजर मुला जुन हामीले पकाउँदैनौं। नपकाइकन खाँदा हामीले विषादी धेरै खाने संभावना हुन्छ। त्यसरी नपकाइकन खाने हो भने बोक्रा ताछेर खाँदा धेरै विषादी जान्छ। तरकारी प्रेसर कुकरमा हालेर पकाए विषादी टुक्रिन्छ।
टुक्रेको विषादीले हामीलाई धेरै असर गर्दैन। काँक्रो,गाजरलाई उमालेपछि पाखलेर खाने हो भने त्यसमा विषादीको असर कम हुन्छ। यसो गरेमा ८० प्रतिशतभन्दा बढी विषादी पखालिएर जान्छ। सलादलाई मम पकाए जस्तो गरी स्टिम गर्ने हो भने अझै प्रभावकारी हुन्छ। सलादमा नै सबभन्दा बढी विषादीको खतरा हुन्छ। कागती लगायतका अमिलोजन्यमा उमाल्ने हो भने अझ ठीक हुन्छ।
हाम्रो भान्छामा सबभन्दा बढी प्रयोग हुने आलुको बोक्रा फाल्ने हो भने विषादी धेरै हट्छ।
विशेषगरी, बेमौसमी तरकारीमा धेरै विषादीको प्रयोग गरिएको हुन्छ। त्यसका लागि बेमौसमी तरकारीको प्रयोग गर्नुहुँदैन। जस्तै; हिजोआजको मौसममा काउलीमा बढी विषादी प्रयोग गरिएको हुन्छ। माइनस ४ डिग्री चिसोमा तरकारी राखेर त्यसलाई पखाल्ने हो भने पनि विषादी टुक्रिन्छ।
अहिले आँपको मौसम छ यसमा विषादीभन्दा पनि छिटो पकाउने औषधि प्रयोग गरिन्छ। यस्तो आँपलाई सरफ पानीले धोएर बोक्रा फालेपछि जान्छ तर भित्रै पसेको रहेछ भने त केही गर्न सकिँदैन। केरा पकाउनका लागि मात्रै औषधि राखिने भएकाले खासै हानिकारक हुँदैन।
अंगुरलाई पनि तातो पानीमा पखालेर खाने हो भने असर गर्दैन। स्याउ पनि पानीमा पखालेर बोक्रा फालेर खाने हो भने विषादीबाट बच्न सकिन्छ। यसो गर्दा भिटामिन नष्ट हुँदैन। किनकी भिटामिन बोक्रामा भन्दाभित्र नै बढी हुन्छ।