हिस्टेरिया एक प्रकारको मानसिक समस्या हो। पहिला-पहिला र अहिले पनि बोलीचालीको भाषामा यसलाई हिस्टेरिया भनिए पनि यसको नाम परिवर्तन भएको छ। यसलाई अहिले 'डिसोसिएटिभ कनभर्जन डिसअर्डर' भनिन्छ।
यसमा बिरामीले अनौठो खालको व्यवहारहरू देखाउने गर्छन्। जुन स्वभाविकभन्दा भिन्न देखिन्छ। कहिले बेहोश हुने अनि कहिले बक्ने,काम्ने हुन्छ। हरेक 'केस'मा यही कारण भन्ने थाहा हुँदैन।
तर धेरैजसो 'केस'मा हिस्टेरिया हुनुको पछाडि तनाव हुन्छ। मुख्य कारक तनाव नै हो। हाम्रो दैनिक जीवनमा तनाव जसरी पनि आउन सक्छ। घर व्यवहार कार्यालय अथवा टोल छिमेकलगातयका कारणले तनाव हुन सक्छ। तनावसँग जुध्न नसकेर शारीरिक लक्षणहरू देखिएका हुन्छन्।
हिस्टेरियाका लक्षणहरू
यसका लक्षणहरू धेरै हुन्छन्। बिरामी बेहोश हुन सक्छ। जस्तो,बेलाबखत सुन्ने गरिन्छ कि स्कुलहरू कति बन्द भइरहेका छन्। कहिलकाहीँ १०/२० जना विद्यार्थीहरू बेहोशी भयो भन्ने,अस्वभाविक खालको व्यवहार गर्यो भन्ने खालको लक्षणहरू आउन सक्छ। कहिलेकाहीँ बोल्न नसक्ने, हात नचल्ने खुट्टा नचलेको जस्तो हुने,आँखा देखिएन भन्ने खालका लक्षणहरू आउन सक्छ।
आधा घण्टादेखि डेढ घण्टास्म्म अचेत हुने पनि हुन्छन्। बोलाउँदा उठ्दैनन,आँखा खोल्दैनन्, हातखुट्टा छोडेर बेहोशी जस्तै बनेर सुत्ने पनि हुन्छन्।
यो रोगको कुनै उमेर समूह छैन। सानै उमेरदेखि पनि यसको लक्षण देखिन्छ। तन्नेरीहरूलाई पनि देखिन्छ भने प्रौढहरूलाई समेत देखिन्छ।
उपचार
कहिलेकाहीँ 'हिस्टेरिया मास कनभर्जन डिस अर्डर'को रूपमा आइरहेको हुन्छ। जसमा स्कुलमा धेरैलाई एकैचोटी देखिने हुन्छ। त्यस्तो बेलामा समाजमै गएर केही गर्नुपर्ने हुन्छ। त्यो बाहेक यसका पछाडि के कारण छ भनेर समेत खोज्नुपर्ने हुन्छ। कहिलेकाहीँ हिस्टेरिया अरु मानसिक समस्याको रूपमा समेत आउन सक्छ। डिप्रेसन,एन्जाइटीलगायतका रोगहरूको लक्षणको रूपमा पनि आउन सक्छ। त्यसकारण हामीले पहिला अन्य रोगको कारक हो कि होइन भनेर हेर्छौं।त्यसको आधारमा हामी उपचार गराउँछौं।
हिस्टेरिया भएका बिरामीलाई देख्ने मान्छेहरू एकदमै डराउँछन र अत्तिन्छन् पनि। ठूलो समस्या भएको जस्तो देखिन्छ। बेहोश हुने,अचेत हुने अनि नभएकोले बक्ने गर्दा धेरै बिरामीलाई 'इमर्जेन्सी'मा ल्याइन्छ। कहिले-कहिले दुर्गम क्षेत्रबाट गाडी पाइएन भने हेलिकप्टरबाट समेत ल्याएका हुन्छन्।
धेरैजसो बिरामीहरू फुक्ने,जान्नेकोमा लगिएका हुन्छन्। त्यसपछि मात्रै उनीहरू अस्पताल आउँछन्। कसैले बोलाएजस्तो लाग्ने,बोलेको जस्तो लाग्ने,पिटे भन्ने,पिटेको जस्तो अनुभव हुने खालका लक्षणहरू पनि देखिन्छन्। बिरामीलाई यो अवस्था आयो भने एन्जाइटी या डिप्रेसन भएको हुनसक्छ।
लापरबाही गरे के हुन्छ
जुन ढंगले उपचार गर्नुपर्ने हो त्यो ढंगले उपचार भएन भने यो बढिरहन्छ। पटक-पटक दोहोरिन सक्छ। बिरामी अपहेलित हुँदै जान्छ। उसलाई स्कुलबाट निकाल्दिने,काममा छ भने हटाइदिने पनि गरिएको हुन्छ। शारीरिक रूपमा यो ठूलो समस्या होइन। यसले ज्यानलाई खतरा पनि हुँदैन। तर उपचार भएन भने मनोवैज्ञानिक रूपमा तनाव भइरहन सक्छ। रोग बढिरहन सक्छ। यस्तो अवस्थामा मान्छेले दैनिक रूपमा जे काम गर्नुपर्ने थियो त्यो गर्न सक्दैन।