प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका छन्।
भवन उद्घाटनपछि प्रधानमन्त्री ओलीले यस अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरेका छन्।
‘यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई समान भावले उपचार गर्नेछ’, प्रधानमन्त्री ओलीले भने, ‘अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानव जातिको रूपमा उपचार गर्नुपर्दछ।’
२०५१ सालमा आफू गृहमन्त्री भएको बेला यस अस्पतालको निर्माणको प्रस्ताव आएको प्रधानमन्त्री ओलीले स्मरण गरे।
‘हृदय रोग उपचार केन्द्र निर्माण गरौं भनेर डा. अरुण सायमीजीले प्रस्ताव ल्याउँदा म धेरै खुसी भएको थिएँ’, प्रधानमन्त्री ओलीले भने, ‘भयावह हुँदै गरेको मुटु रोगको उपचार हुन सहज भएपछि धेरै जनाको ज्यान बच्ने भयो भनेर पनि मेरो रमाएको थियो।’
प्रधानमन्त्री ओलीले यस प्रकारका उच्च प्रविधियुक्त अस्पतालहरूले हामीलाई विद्वान पुर्खाको विरासततर्फ फर्काएको बताए।
नेपालीका पुर्खा विद्वान भएका थुप्रै प्रमाण भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘पुर्खाहरूले प्रयोग र अनुभवबाट जडिबुटीलाई औषधिको रूपमा प्रयोग गरे। त्यतिबेला कुनै प्रयोगशाला थिएनन्। त्यस कारण जडिबुटीहरूलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधि र विष छुट्याउने हाम्रै पुर्खा हुन्’, प्रधानमन्त्री ओलीले भने’, ‘हाम्रा पुर्खाहरू अन्धविश्वासमा होइन प्रयोगमा विश्वास गर्दथे।’
पुर्खाको विद्वता र ज्ञानलाई वर्तमान पुस्ताले पुन:प्राप्ति गर्न थालेको प्रधानमन्त्रीको भनाइ छ । ‘हामीसँग पुर्खाहरूको जेनेटिक मेमोरी पनि छ। त्यसकारण पनि हामीलाई विद्वताका कुराहरू ग्रहण गर्न समय लाग्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘औषधी उपचार र अंग प्रत्यारोपणमा हामीले पाएको सफलता त्यसकै एउटा उदाहरण हो।’