बच्चा पेटमा रहँदादेखिका सबै प्रक्रिया बाल विकास हो। यो निरन्तर रूपमा भइरहेको हुन्छ। बाल विकासका धेरै 'कमपोनेन्ट' हुन्छन्।
बच्चा कहिले बस्छ, कहिले हिँड्छ, कहिले दगुर्छजस्ता कुराले बाल विकासको प्रक्रियालाई निर्धारण गरेको हुन्छ।
बच्चाको हातको चाल, बोली, सामाजिक घुलन, बौद्धिक विकास, परिपक्वतालगायत बढ्दै जाने प्रक्रियालाई बाल विकास भनिन्छ।
यसको सिधा सम्बन्ध मस्तिष्क विकाससँग जोडिएको छ।
बाल विकासको महत्व
बच्चाको विकास राम्रोसँग भएन भने जीवनभर यसले असर गर्छ। युवा अवस्था र त्यसपछि उसले गर्ने काम प्रभावित हुन्छ।
परिवार, समाज र देशलाई योगदान दिने एउटा अब्बल नागरिक बनाउन बाल विकासले भूमिका खेलेको हुन्छ।
नेपाली समाजमा बाल विकासलाई धेरै प्राथमिकता दिइएको पाइँदैन। बाल विकासलाई न परिवारले ध्यान दिएको हुन्छ न त चिकित्सकले नै। यस्ता विषयमा जनचेतनाको पनि कमी छ।
बाल विकासमा देखिने समस्या
विभिन्न अध्ययनलाई आधार मान्ने हो भने ८ देखि १० प्रतिशत बालबालिकामा बाल विकासको समस्या छ।
योमध्ये सामान्य खालका समस्या धेरै छन् भने कडा खालका समस्या कम छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बालबालिकामा बढी देखिने बाल विकासको समस्या अटिजम हो।
बच्चालाई जन्मजात पनि केही समस्या देखिएका हुन्छन्, जसले उनीहरूको विकासमा असर पारेको हुन्छ। जन्मिँदादेखि नै डाउन सिन्ड्रोम पनि भएको हुन्छ जसले बच्चाको वृद्धि विकासलाई असर गरिरहेको हुन्छ। कोही बच्चाले हिँड्न, डुल्न, बोल्न ढिलो गरिरहेका हुन्छन्। पढाइलेखाइमा पनि समस्या भइरहेको हुन्छ। कोहीमा चकचके हुने, सामाजिक व्यवहारमा गर्न नसक्ने, कुनै कुरामा ध्यान दिन नसक्ने समस्या देखिएका हुन्छन्।
बाल विकासमा पर्ने असर
बच्चा गर्भमा आएदेखि नै बाल विकासलाई असर पारेको हुन्छ। वंशानुगत समस्या, गर्भवतीले पाएको वातावरणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
गर्भवती महिलालाई कुनै संक्रमण भयो भने जन्मिने क्रममा समस्या आयो भने पनि बाल विकासमा समस्या देखिन्छ।
विशेष गरी सुनौला १ हजार दिनमा बच्चालाई कुनै समस्या आउनु हुँदैन। (सुनौला १ हजार दिन भनेको के हो?) बच्चाको पोषणमा पनि उत्तिकै ध्यान दिनुपर्छ। कुपोषणले बच्चाको मस्तिष्कलाई विकास हुन दिँदैन।
बाल विकासको चरण
कुनै पनि उमेरको बच्चाले कतिसम्म गर्न पर्ने भन्ने हुन्छ। १ वर्ष भएपछि बच्चाले कम्तिमा एउटा शब्द बोल्नुपर्छ। १३ महिनामा बच्चाहरू हिँड्नु पर्ने हुन्छ। यस्ता कुरा आफ्नो बच्चाले गरेको छ कि छैन भनेर अभिभावकले हेर्न सक्छन्।
बच्चाको साँच्चै विकास भएको छ कि छैन भनेर थाहा पाउने केही चिकित्सकीय तरिका पनि हुन्छन्। ती तरिका प्रयोग गरेर बच्चाको सबै विकास ठीक तरिकाले भएको छ कि छैन भनेर परीक्षण गर्न सकिन्छ।
बच्चाको विगत हेरेर पनि उसको विकासक्रमबारे बताउन सकिन्छ।
समस्या भए सुधार्ने कसरी
बाल विकासमा के समस्या छ भनेर पहिला पहिचान गर्नुपर्छ। बच्चाको समग्र विकासमा ढिलो भएको हो कि कुनै अंगको विकासमा ढिलो हो भनेर छुट्टाउन जरूरी छ। उदाहरणका लागि कोही बच्चा समयमा बोल्न सकेन भने सुन्ने शक्ति कमजोर भएर हुनसक्छ वा अटिजमको कारणले पनि हुनसक्छ।
पहिला कारण पत्ता लगाउनु पर्छ, त्यसकै आधारमा उपचार गर्नुपर्छ। कोही बच्चा सबै प्रक्रियामा ढिला भइरहेका हुन्छन्। त्यस्तो अवस्थामा थाइरोडले समस्या पारेको हुनसक्छ। त्यसैले समस्याको पहिचान महत्वपूर्ण हो। बच्चामा समस्या देखिएको छ भने त्यही अनुसारको थेरापी गर्न सकिन्छ।
कोही बच्चामा बोल्न समस्या छ भने त्यहीअनुसारको थेरापी दिने, बानी व्यवहारमा समस्या छ भने मानसिक रोग विशेषज्ञकोमा लैजाने गर्नुपर्छ। सामान्य बच्चालाई पनि यस्ता विषयमा ध्यान दिइयो भने बाल विकासमा सकारात्मक असर पर्छ।
१ देखि २ वर्षको बच्चाले बोल्ने वातावरण पाउनु पर्छ, त्यस्तो भएन भने बोलीको विकास हुन सक्दैन। अटिजम भएका बच्चाहरूलाई भने सामाजिक वातावरण बनाउनु पर्छ।
(पाटन अस्पतालमा कार्यरत बरिष्ठ बालरोग विशेषज्ञ ओझा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्राध्यापक हुन्।)