अहिले जताततै डेंगी आतंक छ। लामखुट्टेले सार्ने यो रोग तराईदेखि हिमाली जिल्ला मनाङसम्म पुगेको छ।
सरकारी तथ्यांकअनुसार डेंगीबाट ६ जना नेपालीको ज्यान गएको छ भने झन्डै चार हजार बिरामी परेका छन्।
ट्वाक्कै खानासाथ ठ्याक्कै निको भइहाल्ने औषधी बनिनसकेको डेंगीले नेपाललाई मात्र सताएको छैन।
दक्षिण पूर्वी एसियाली मुलुकहरूमा पनि यसपालि डेंगीको आतंक छ।
विश्व स्वास्थ्य संस्था (डब्लुएचओ) का अनुसार म्यानमार, सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, इन्डोनेसियालगायत उक्त क्षेत्रका मुलुकमा डेंगीबाट १८ सय मानिसले ज्यान गुमाएका छन् भने लाखौं बिरामी परेका छन्।
विश्वव्यापी उष्णता र मनसुनी पानी पर्ने क्रममा आएको बदलावले यसापलि डेंगी धेरै फैलिएको अध्ययनहरूले देखाएका छन्।
यो वर्षको जुलाईमा निकै नै गर्मी भयो। यसपालिको जुलाईको औसत तापक्रम पछिल्ला १४० वर्षमध्ये सबैभन्दा बढी मापन भयो।
एकातिर गर्मी र अर्कातिर मनसुनमा भएको बदलावले डेंगी सार्ने लामखुट्टे एडिस ऐजिप्टीका लागि निकै सुहाउँदो वातावरण बन्यो। एडिस ऐजिप्टीको संख्या बढेसँगै डेंगीको प्रकोप पनि ह्वात्तै बढ्यो।
औषधी पत्ता नलागेकाले डेंगीको प्रकोप रोक्न नेपाललाई मात्र होइन अन्य देशका सरकारहरूलाई हम्मेहम्मे परेको छ।
तर वैज्ञानिकहरूले हिम्मत हारेका छैनन्। औषधी पत्ता लगाउन नसके पनि डेंगी सार्ने लामखुट्टेलाई डेंगीको भाइरस बोक्न नसक्ने बनाउने उनीहरूको प्रयास जारी छ।
पछिल्लो समय उक्त प्रयासले एसिया, अफ्रिका र दक्षिण अमेरिकामा झन्डै १० करोड मानिसलाई सताएको डेंगी नियन्त्रण गर्ने आशा जागेको छ।
विश्व लामखुट्टे कार्यक्रमले केही वर्षअघि डेंगी रोक्न अल्बाकिया छर्किने तरिका पत्ता लगाएको हो। सोही तरिका अहिले अष्ट्रेलियासहित ९ देशमा परीक्षण भइरहेको छ।
भियतनामको दक्षिणी भिन लुओङ जिल्लामा गरिएको परीक्षणले डेंगी नियन्त्रण गर्ने आशा जगाएको छ।
ओल्बाकिया ब्याक्टेरिया प्रयोग गरेपछि डेंगीको उक्त जिल्लामा डेंगीको संक्रमण ८६ प्रतिशतले कमी आएको समाचार संस्था एएफपीले जनाएको छ।
ओल्बाकिया के हो? यसले कसरी डेंगी रोक्छ?
ओल्बाकिया ब्याक्टेरिया सन् १९२० को दशकमा अमेरिकाको हार्वर्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थको नालीमा भेटिएको थियो।
६० प्रतिशत किरामा पाइने ओल्बाकियामा रोग संक्रमण रोक्ने क्षमता हुन्छ भन्ने सन् १९७० को दशकमा मात्र भएको पत्ता लागेको हो।
ओल्बाकिया फाइदाजनक ब्याक्टेरिया हो। यसले मान्छेलगायत कुनै पनि जीवमा नोक्सान गर्दैन।
पछिल्ला वर्षहरूमा लामखुट्टेबाट सर्ने डेंगी, जिका, चिकनगुनियालगायत रोगहरूको नियन्त्रणका लागि ओल्बाकियाको परीक्षण हुँदै आएको छ।
यसको संक्रमण भएपछि लामखुट्टेको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र उसको शरिरमा माथि उल्लेखित रोगहरू लाग्दैनन्।
यो ब्याक्टेरियाले कोलेस्ट्रोललगायत अणुका लागि यी रोगका भाइरससँग प्रतिष्पर्धा पनि गर्ने भएकाले भाइरसले लामखुट्टेमा संक्रमण गर्न सक्दैन।
वातावरणमा यो ब्याक्टेरियालाई छर्किएपछि लामखुट्टेमा संक्रमण हुन्छ र चाँडै नै फैलिन्छ।
यदि भाले र पोथी लामखुट्टे दुबैमा ओल्बाकिया ब्याक्टेरिया छ भने तिनका बच्चाहरू सबै ओल्बाकियासहित जन्मिन्छन्। नयाँ लामखुट्टेले केही दिनमै पुरानालाई विस्थापन गर्छन्।
पोथीमा मात्र ओल्बाकिया भयो भने पनि बच्चाहरू ओल्बाकियासहित नै जन्मिन्छन्। यदि भालेमामात्र ओल्बाकिया भयो भने अण्डाबाट बच्चा नै जन्मिन सक्दैन। ओल्बाकिया नभएको बच्चा जन्मन भाले पोथी दुबै नै ओल्बाकियारहित हुनुपर्छ।
यसरी ओल्बाकिया छर्किएपछि चाँडै नै छोटो जीवन चक्र भएको लामखुट्टेको सारा जनसंख्यामा प्रभाव पर्छ। एडिस ऐजिप्टी लामखुट्टेको आयू डेढदेखि तीन हप्ताको हुन्छ।
ओल्बाकिया संक्रमित माउ र सम्पूर्ण बच्चाहरूले टोक्दा यी रोगहरू लाग्ने डर हुँदैन।