डायलासिस भनेको उपचारको एउटा पद्धति हो। कुनै मान्छेको मिर्गौला (किड्नी) ले काम गर्न छोड्यो भने उसको ज्यान बचाउनलाई डायलासिस गरिन्छ।
मिर्गौलाले काम नगरेका बिरामीको शरीरमा जम्मा भएको फोहरलाई सफा गर्ने पद्धति डायलासिस हो। शरीरमा भएको जति पनि फोहर पदार्थ रगतबाट किड्नीमा जान्छ। किड्नीले त्यसलाई छानेर निकाल्छ पिसाबको माध्यमबाट।
तर जब किड्नी बिग्रिन्छ, त्यसपछि यसले फोहर छान्न पनि सक्दैन र पिसाब निकाल्न पनि सक्दैन।यस्तो अवस्थामा रगतमा फोहर जम्मा हुन्छ। फोहर धेरै भएपछि त्यसले टाउको, मुटु, फोक्सोलगायतका अंगलाई असर गर्छ। फोहरको असर आउन थालेपछि डायलासिस गर्नै पर्ने अवस्था आउँछ।
डायलासिस दुई प्रकारको हुन्छ: हेमोडायलासिस र पेरिटोनियल डायलासिस।
हेमोडायलासिस
यो मेसिनको सहयोगमा मिर्गौला रोगीको रगत शुद्ध गर्ने पद्धति हो। शरीरबाट रगत निकालेर मेसिनमा पठाइन्छ मेसिनले रगतको शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउँछ।
पेरिटोनियल डायलासिस
यो पद्दतिअनुसार डायलासिस गर्दा मिर्गौला रोगीको पेटमा पाइप राखिन्छ, पेटभित्र गएको पाइपमा पानी हालिन्छ। त्यो पानी परिवर्तन भएर शरीरबाट फोहोर निकालिदिन्छ।
एक पटक डायलासिस गरेपछि सधैँ गर्नपर्छ?
एक पटक डायलासिस गरेपछि सधै गर्नुपर्छ भन्ने छैन। मान्छेको किड्नीको अवस्थाले कहिलेसम्म, कति पटक र कसरी डायलासिस गर्ने भन्ने निर्धारण हुन्छ। विशेष गरी डायलासिस गर्नुपर्ने बिरामीका तीन अवस्था हुन्छन्।
पहिलो खालका बिरामीको किड्नीमा विभिन्न कारणले समस्या आएको हुन्छ। यस्ता बिरामीको केही समय किड्नीले काम गर्न सक्दैन। त्यस्तो अवस्थामा किड्नीको फोहोर फाल्न डायलासिस गर्नुपर्छ। केही समयपछि बिरामीको किड्नी पहिलाको अवस्थामा फर्किन पनि सक्छ।
तर किड्नीको रोगीलाई अरू समस्या (संक्रमण,औषधीको असर) पनि थपियो भने उसको क्रियाटिन ह्वात्तै बढ्छ। अनि किड्नीले काम गर्न छोड्छ। त्यो बेलामा पनि केही समय डायलासिस गरेपछि फर्किएर आउँछ। यद्यपी किड्नी सामान्य नभए पनि डायलासिस गर्न नपर्ने हुन सक्छ। तर पछि गएर भने कुनै न कुनै बेला डायलासिस चाहिन सक्छ।
तेस्रोमा, सधैँ डाइलासिस गर्न पर्ने बिरामी हुन्छन्। कुनै कारणले किड्नी पुरै बिग्रिसकेको छ, किड्नीले काम गर्न छोडिसक्यो भने त्यस्ता मानिसलाई मात्रै नियमित डायलासिस गर्न पर्ने अवस्था आउन सक्छ।
हामीले थाहा पाएअनुसार वीर अस्पतालमा एक जनाले २३ वर्षदेखि गरेका छन्। पाटन अस्पतालमा १० वर्ष भयो। हामीकहाँ १० वर्षदेखि डायलासिस गरिरहेका बिरामी छन्।
नेपालमा डयालासिस नि:शुल्क
नेपाल सरकारले डायलासिस निःशुल्क गराएर सह्रानीय काम गरेको छ। सायद दक्षिण एसियामै यो सुविधा छैन होला। नेपालजस्तो गरिबी भएको देशमा एक पटक डायलासिस गरे २५ सयदेखि ३ हजार तिर्नु बिरामीका लागि कठिन हुन्छ। महिनाको ३० देखि ३५ हजारसम्म खर्च हुन्छ। नेपाल सरकारले डायलासिसलाई शुल्क नलाग्ने बनाएको छ, यसले धेरैको ज्यान बचाएको छ।
डायलासिस पूर्ण उपचार होइन
डायलासिसले बिरामीको ज्यान बचाउने हो। किड्नी फेल भएका बिरामीलाई प्रत्यारोपण नगर्दासम्म बिरामीलाई बचाउने उपायमात्रै डायलासिस हो। विकसित देशमा यही परिपाटी छ। नेपालमा विभिन्न कारणले गर्दा चाहेर पनि सबैले मिर्गौला प्रत्यारोपण गर्न पाएका छैनन्। त्यसैले गर्दा नेपालमा मिर्गौलाका धेरै बिरामी डायलासिसको भर परेका छन्। विकसित देशमा मिर्गौलाका बिरामीलाई प्राथमिकताका आधारमा प्रत्यारोपण हुन्छ। त्यस्ता देशमा मिर्गौला प्रत्यारोपण गर्न नपाउने भन्ने हुँदैन। डायलासिस एउटा बीचको माध्यममात्रै हो।
विभिन्न अनुसन्धानले भनेका छन् कि, डायलासिस गरिरहेका बिरामीले गुणस्तरिय जीवन बिताउन पाउँदैनन्। सामान्य मानिसको तुलनामा उनीहरूले धेरै समस्या भोगेका हुन्छन्। डायलासिस गर्दा धेरै अड्चन हुन्छन्। साताको कम्तिमा तीन दिन अस्पताल आउनुपर्छ। बिरामी चार घन्टा मेसिनमा जोडिनु पर्छ। यसले गर्दा उसको दैनिकीमा असर पर्छ। बिरामी मात्रै होइन,परिवारका एक सदस्यसँगै आउने (लाने -लैजाने) गर्नुपर्ने हुनाले उसले समेत सामान्य जीवन बिताउन पाउँदैन। डायलासिस गर्दा पनि धेरै जटिलताहरू आउँछन्। रगतसँग लिंक भएर रगत सफा गर्ने हुनाले त्यो बेलामा मानिसको शरीरमा अनेक तत्वको कमी हुन जान्छ। उसलाई जिउ दुख्ने, बान्ता आउन सक्ने भएकाले डायलासिस गरिरहेका मानिसको दैनिकी सहज हुँदैन।
डायलासिस गर्नेले अपनाउनु पर्ने सावधानी
यस्ता बिरामीले खानामा नियन्त्रण गर्नुपर्छ। उनीहरूको पिसाब नआउने भएकाले पानी खानसमेत नपाउने हुन्छन्। कतिपय हामी पानी खान नपाउने बिरामी भनेर भनेका हुन्छन्। पानी पनि मात्रा तोकेर खानुपर्छ। पिसाब नआउने भएपछि पानी धेरै खान हुँदैन। पानी धेरै खायो भने त्यो खुट्टादेखि फोक्सोसम्म जम्न सुरू हुन्छ। जसले गर्दा श्वास फेर्न गाह्रो हुन्छ अनि इमर्जेन्सी डायलासिस गर्नुपर्ने हुन्छ। त्यसैले खानपीनदेखि हरेक कुरामा सावधानी अपनाउनुपर्छ।
मिर्गौला प्रत्यारोपण गरेपछि भने उसले मजाले पिसाब निकाल्न सक्छ किनकी अरूको किड्नी राखे पनि एउटा किड्नीले पर्याप्त काम गरेको हुन्छ। खानमा केही बारे पनि डायलासिस गर्नेहरूले जति कडाइ भने गर्नु पर्दैन।
(मिर्गौला रोग विशेषज्ञ डा पाण्डे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्रध्यापक हुन्।)