गर्भवती महिलाले खाने पारासिटामोलले बच्चामा 'अटिजम' अर्थात् मस्तिष्क विकासमा असर पर्नसक्ने सम्भावना बढेको पाइएको छ। हालै स्पेन र डेनमार्कमा गरिएका छुट्टाछुट्टै अध्ययनले अटिजमलाई गर्भवती महिलाले खाने पारासिटामोलसँग जोडिएको छ।
यी अध्ययन आमाले खाएका पारासिटामोलको डोजअनुसार मापन गरिएका थिए। यो त्रुटिपूर्ण पनि हुनसक्थ्यो। तर यस विषयमा उठ्न सक्ने प्रश्नलाई मध्यनजर गर्दै अमेरिकाको ‘हप्किन्स विश्वविद्यालय ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थ’का बाल चिकित्सक सियाओबिन वांगले आफ्नो नेतृत्वमा गर्भनालबाट लिइएको रगतमा पारासिटामोलको स्तर मापन गरेका सिएनएनमा उल्लेख छ।
वांगको समूहले सन् १९९८ मा ‘बोस्टन बर्थ कोहोर्ट’मा जन्मेका ९ सय ९६ जना बच्चामा अनुसन्धान सुरू गरेको थियो। मुख्य अध्ययनमा भने ३ हजारभन्दा बढी आमा र बच्चा सामेल थिए।
अध्ययनमा बच्चाहरूलाई दुई दशकसम्म परीक्षणका लागि ट्रयाक गरिएको थियो। जसमा केही केसहरूमा अटिजम ‘स्पेक्ट्रम डिसअर्डर’ र ‘हाइपर–ऐक्टिभिटी डिसअर्डर’ समावेश गरिएको थियो। वांगको टिमले ती तथ्यांक संकलन गरेर परीक्षण अघि बढाएका थिए। गर्भावस्था अवधिमा कति भ्रूणमा औषधि देखिने कुरा हिसाब गरे। र, स्तरअनुसार तिनलाई कम, मध्यम र उच्चमा विभाजन गरे।
उक्त अध्ययन तथा परीक्षणले गर्भवती महिलाको बढ्दो उमेर र तौल, गर्भावस्थामा आउने ज्वरो र बच्चामा देखिने कम वजन, तौलले अटिजम हुने जोखिम बढाउने देखायो। पारासिटामोलको डोज कम परेका बच्चाको तुलनामा धेरै डोजमा परेकाहरूमा अटिजम हुने सम्भावना लगभग चार गुणा बढी थियो।
अष्ट्रेलियाको ‘मेलबर्न आइभिएफ एण्ड रोयल वुमन’ अस्पतालका क्लिनिकल निर्देशक एलेक्स पोल्याकोभ यो अध्ययनमा पूर्ण समर्थन भने गर्दैनन्। उनका अनुसार अध्ययनले गर्भवतीमा कहिलेकाहीँ मात्र पारासिटामोल सेवन गर्दा अटिजम वा हाइपर–एक्टिभिटी डिसअर्डर जोखिम बढ्ने कुनै संकेत देखाएको छैन।
तर पारासिटामोल जस्ता कुनै पनि औषधि जोखिममुक्त नहुने उनी बताउँछन्।
'विशेषगरी गर्भावस्थामा आवश्यक भए मात्र खानुपर्छ,’ एलेक्स पोल्याकोभ भन्छन्, ‘यस विषयमा गरिएको अध्ययनका निष्कर्षका आधारमा बच्चा डेलिभरीको समयतिर पारासिटामोल नखानु नै उत्तम हुन्छ।’
अब गर्भवतीले पारासिटामोल खान हुने वा नहुने विषयमा थप अध्ययन र बहस हुने पनि बताइएको छ।