जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ। रुघाखोकीमात्रै होइन रुघाखोकीसँगै एलर्जी पनि हुन्छ। नाकभित्र संक्रमण अर्थात् पिनास हुन्छ। नाकमा बढी डिस्चार्ज (नाकबाट कुनै प्रकारको तरल पदार्थ आउनु वा बग्नु) आउने र नाक बन्द हुने हुन्छ।
घाँटीमा टन्सिलको समस्याले स्वास फेर्न गाह्रो भएजस्तो हुन्छ। कसैकसैलाई दमको समस्या पनि अलि बढी हुने गर्छ। शरीरले एक्कासी चिसो सहन सक्दैन,जसले गर्दा जाडो समयमा भाइरसको किटाणु अलि बढी लाग्ने गर्छ।
यसको धेरै अध्ययन त भइसकेको छैन तर जाडोमा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई भाइरलले अलि चाडो आक्रमण गर्छ। रुघाले नाकलाई मात्रै अप्ठ्यारो पारेको हुँदैन। यसले कानमा पनि समस्या पार्छ। कानको सुन्ने शक्तिमा समेत अप्ठ्यारो पार्न सक्छ। रुघाखोकी लाग्दा ज्वरो आउने, खानेकुरा निल्न गाह्रो हुने अनि ज्यान करकर खाने हुन्छ।
रुघाखोकी लाग्दा के गर्ने?
रुघाखोकी कस्तो खालको हो त्यसको आधारमा उपचार गर्नुपर्छ। कोही बिरामी हुन्छन्,जसलाई सधै रुघा लाग्छ भने त्यो एलर्जीले हो। धुलो,ढुसी चिसोले अनि कसैलाई फूलको एलर्जी, कुकुर बिरालोको एलर्जीले सधैभरि रुघा लाग्ने हुन्छ। यसका लागि जेबाट एलर्जी भएको हो,त्यहीबाट बच्नु नै पहिलो उपाय हो।
हाम्रो समाजमा जतासुकै मेडिकल छन्। ज्वरो र रुघामा सिटामोल खानु सामान्य हो। तर त्योभन्दा बाहेक एन्टिबायोटिक खाइन्छ। बच्चाहरूलाई कडा औषधि खुवाउने,झोल औषधि अनि भिटामिन पनि दिइन्छ। यसले बिरामीको स्वास्थ्यमा असर पार्छ नै बच्चाहरूलाई पनि झन् समस्या हुन्छ। त्यस्तो भयो भने बिरामीलाई कडा भन्दा कडा एन्टिबायोटिक खुवाउन पर्छ।
रुघाखोकीबाट कसरी बच्ने ?
रुघाखोकीबाट बच्न बाटोमा हिँड्दा समेत धुलोबाट जोगिनेगरी मास्क लगाएर हिँड्नु पर्छ। साधारण खाले रुघा छ भने घरेलु उपायले नियन्त्रण गर्न सकिन्छ।
भाइरलको संक्रमण फैलिएको बेलामा विद्यालयमा जाँदा र अन्यत्र हिँड्दा जोगिनु पर्छ। साधारण खाले रुघाखोकीलाई घरमै उपचार गर्न सकिन्छ। तर रुघाखोकीसँगै नाकबाट पहेलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या आउने, कानमा पनि समस्या छ भने होसियारी अपनाउनुपर्छ। किनकी नाक, कान र घाँटीले एक आपसमा असर पारिरहेका हुन्छन्। बालबालिकाको हकमा त अझै ध्यान दिनुपर्छ।
यदि बालबालिकालाई रुघाखोकी लागेको बेलामा कानमा पनि समस्या देखियो भने चिकित्सककहाँ जानुपर्छ।
रुघाखोकी लाग्दा जे पनि बार्नुपर्छ भन्ने छ, त्यो गलत हो। रुघाखोकी लाग्दा बारेन भने टाइफाइड हुन्छ भन्ने होइन। झोलिलो र तागतिलो खाना सबै खान हुन्छ। तर एकदमै चिसो चिल्लो पिरो खानु हुँदैन। जुन खानाले अन्यलाई पनि असर गर्छ त्यो खान हुँदैन।
(डा.खरेल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत छन्)