प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिस भएपछि मंगलबार अस्पताल भर्ना भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सोमबार राति प्रधानमन्त्रीलाई पेट दुखेको थियो। उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए। परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने तयारी भएको छ।
के हो एपेन्डिसाइटिस?
हाम्रो शरिरको ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टी हुने चार इन्चजति लामो नलीलाई एपेन्डिस भनिन्छ।
यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ। एपेन्डिसको काम के हो भन्ने निश्चित छैन। कतिपय अनुसन्धानले पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन्।
कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणालीलाई दुरूस्त पार्न सहयोग गर्ने बताएका छन्।
त्यही एपेन्डिस संक्रमणमा भयो भने सहन नसक्ने गरी पेट दुख्छ। एपेन्डिसमा घाउ हुँदा त्यो सुनिन्छ। कतिपय अवस्थामा फुट्न पनि सक्छ।
सामान्य शल्यक्रिया गरेर एपेन्डिस काटेर फालिन्छ। आजकाल डाक्टरहरूले अरू नै कारणले बिरामीको पेटको शल्यक्रिया गर्नु परेका बेला पनि एपेन्डिस काटेर फाल्दिने गर्छन्।