एपेन्डिस भनेको ठूलो र सानो आन्द्राको बीचमा हुने एउटा सानो अंग हो।
यो आधादेखि एक सेन्टिमिटर गोलाइ र ३ देखि ८ सेन्टिमिटरको लम्बाइको हुनसक्छ। पेटको दाँयातिरको तल्लो भागमा हुने एपेन्डिसलाई शरीरका लागि काम नलाग्ने भनेर भनिन्छ। संक्रमणसँग लड्ने अंगको रूपमा चिनिए पनि यसको देखिने भूमिका केही हुँदैन।
जब एपेन्डिस सुनिन्छ त्यसलाई एपेन्डिसाइटिस भनिन्छ। यो इमर्जेन्सी अवस्था हो। यस्तो बेला पेट यसरी दुख्छ कि मान्छे घरमै बसेर आराम गर्छुभन्दा पनि सक्दैन। त्यसैले बिरामी धेरैजसो ‘इमर्जेन्सी’मै जान्छन्।
यसको दुःखाइ पनि फरक किसिमको हुन्छ। सुरूमा नाइटोको वरिपरि दुख्छ अनि त्यो बिस्तारै सरेर बाँयातिरको तल्लो पेटमा पुग्छ।
विशेषज्ञले परीक्षण गरेपछि मात्रै यो रोगबारे थाहा हुन्छ। कहिलेकाहीँ एपेन्डिसइटिस भनेर सोच्दा अरू रोग पनि हुन सक्छ। जस्तो, पेटको दाँयातिर किड्नीको नलीमा ढुंगा रहेछ भने पनि दुख्छ। त्यस्तै महिलालाई दाँयातिरको डिम्बासयतिर सिस्टहरू भयो भने कहिलेकाहीँ एपेन्डिसाइटिसको जस्तै दुखाइ हुन्छ। विशेषज्ञले गर्ने परीक्षण तथा अल्ट्रासाउन्ड लगायतबाट एपेन्डिसाइटिसको पत्ता लगाउन सकिन्छ।
एपेन्डिसाइटिसको रोकथाम
यसको रोकथाम छैन,किनकी कसलाई हुन्छ/हुँदैन भन्न सकिँदैन।
सामान्यत: २० देखि ४० वर्षकालाई एपेन्डिसाइटिस हुन्छ। ४/५ वर्षको बच्चादेखि बूढाबूढीलाई पनि भएको देखिन्छ। सम्भावित कारणबारे थाहा नहुने भएकाले जोगिने उपाय चिकित्सकले समेत पत्ता लगाउन सकेका छैनन्। कसै-कसैलाई भने अल्ट्रासाउन्ड गरेको बेलामा एपेन्डिसको प्वाँलमा सानो ढुगांजस्तो बसेको हुन्छ। यस्ता व्यक्तिलाई एपेन्डिसाइटिस हुने सम्भावना बढी हुन्छ। यस्ता व्यक्तिलाई एपेन्डिसाइटिस भयो भने संक्रमणको खतरा पनि उत्तिकै रहन्छ।
एपेन्डिसाइटिस भनेको ‘इमर्जेन्सी सर्जिकल कन्डिसन’ हो। यसको शल्यक्रिया गर्न किन जरूरी छ भने, यसलाई यत्तिकै छोडे ज्यानलाई नै खतरा गर्न सक्ने हुन्छ। प्वाँल परेर फुट्यो भने त्यसमा रहेको फोहोर चिज पेटको अरू ठाउँमा गयो भने यसले नराम्रै संक्रमण गराउँछ। यसको अलवा नफुट्ने अवस्थामा पनि त्यो ठाउँमा पीपहरू जम्ने, आन्द्रा डल्लो पर्ने हुनसक्छ।
सबैभन्दा बढी खतरा बच्चा र बूढाबूढीलाई हुन्छ। सामान्यत: बोसे आन्द्राले संक्रमण भएको ठाउँमा रहेर संक्रमणलाई वरिपरि ढाक्दिन्छ जसले गर्दा फुट्न दिँदैन। तर बोसे आन्द्रा सानो बच्चामा ज्यादै थोरै र ठूलो मान्छेमा नसा जाम भएर राम्ररी काम गर्न सक्दैन। त्यसैले बच्चा र बूढाबूढीमा फुट्ने डर हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका र औषधि खाइरहेका व्यक्तिलाई पनि यसको खतरा हुन्छ। गर्भवती महिलामा पनि यसको खतरा रहन्छ।
एपेन्डिसाइटिसको उपचार
दुःखाइ कम भएको अवस्था अर्थात् नफुटेको बेलामा पेटदेखि दाँयातिरको पेटको तल्लो भागमा तीनदेखि चार सेन्टिमिटरको चिराइबाट यसलाई निकाल्न सकिन्छ। दूरबिन प्रविधिबाट पनि यसको शल्यक्रिया गर्न सकिन्छ। एपेन्डिस फुटेपछि पीप र फोहर चिज पेटभरि फैलिएको हुन्छ। त्यसमा धेरैजसो ठूलो चिराइ गरेर यसलाई निकालेर सरसफाइ गर्नुपर्छ।
यो जटिल खालको सर्जरी होइन। हामीले पहिले सिक्ने शल्यक्रिया भनेकै एपेन्डिसाइटिस हो। तर पनि यसमा खतरा भने रहिरहन्छ। शल्यक्रिया गरेको बिरामी भएकाले बाहिरको घाउ पाक्न सक्ने सम्भावना धेरै हुन्छ। एपेन्डिसाइटिस भएकामध्ये १० देखि २० प्रतिशतको घाउ पाक्ने सम्भावना हुन्छ। कहिलेकाहीँ एपेन्डिससँगै जोडिएको रक्त नलीबाट रगत जान पनि सक्छ। एपेन्डिसको तल्लो भागसम्म कुहिएको छ भने त्यो भाग फुटेर दिसा नै आउने डर हुन्छ। कहिलेकाहीँ हर्निया भएर पनि दिसा आउन सक्छ।
एपेन्डिसाइटिस भएको बेलामा पीप निस्किने भएकाले घाउ पाकेर संक्रमण हुने डर हुन्छ। घाउ पाक्यो भने सफा गर्ने ब्यान्डेज लगाउने गर्नुपर्छ। सामान्यत: एक हप्तामा घाउ निको हुन्छ।
एपेन्डिस कामै नलाग्ने चिज हो भनेर फुर्सदको बेलामा निकाल्ने भन्ने हुन्छ। तर शल्यक्रिया भनेको जोखिमपूर्ण हुन्छ। बिरामीलाई सानोभन्दा सानो शल्यक्रिया गर्दा बिरामीलाई कहिलेकाहीँ खतरा हुन सक्छ। त्यसैले यसका फाइदा-बेफाइदा हेर्नुपर्छ। एपेन्डिसाइटिस नभएका मान्छेको निकालेर केही फाइदा हुँदैन एपेन्डिसाइटिस भएकाहरूका लागि भने फाइदा नै हुन्छ।
(सहप्राध्यापक डा. प्रसन वीर सिंह कंसाकार त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा कार्यरत छन्।)