पेटमा संक्रमणदेखि लिएर अरू समस्या पनि आउँछन्। नेपालमा हुने साझा समस्या ग्याष्ट्रिक हो।
ग्याष्ट्रिक हुँदा नाइटोमाथि भागमा दुख्ने हुन्छ। पित्तथैलीमा पत्थरहरू हुँदा, पित्तथैली पाक्दा पनि पेट दुख्ने हुन्छ। यस्तो बेलामा नाइटोको माथिल्लो भागदेखि लिएर पेटको दाँया भागमा दुख्ने हुन्छ। त्योबाहेक एपेन्डिसाइटिसदेखि लिएर महिलाहरूलाई तल्लो पेटको समस्या हुँदा पनि पेट दुख्छ।
नेपालमा चुरोट, खैनी सूर्तिको अलि बढी नै प्रयोग हुन्छ। रक्सीको पनि प्रयोग धेरै नै हुन्छ। गाउँ-गाउँमा जहाँ खाद्यान्नको सहजता हुँदैन त्यहाँ चुरोट, खैनी, सूर्ति भने पुगिरहेको हुन्छ। सामान्यत: मौसमी पेट दुखाइ अनि वर्षायाममा अनि गर्मीको मौसममा फोहर खानेकुराले पनि पेट दुखाइको समस्या आएको हुन्छ। ठूलो आन्द्रामा हुने संक्रमणले पनि पेट दुख्ने समस्या आउने गर्छ।
भाइरल डायरियाले पनि पेट दुख्छ। धेरै पेट दुखाइ भाइरल डायरियाले गर्दा हुन्छ। पेट दुख्ने, पखाला लाग्ने, शरीर हल्का कमजोर हुनेलगायत समस्या आफैं निको भएर जाने पनि हुन्छ।
नेपालमा पेट दुख्यो भने औषधी पसलमा गएर किनेर औषधी खाने चलन छ। कतिपय पेट दुखाइको समस्यामा औषधी समेत चाहिँदैन। खानेकुरामा ध्यान दिइयो भने आफैं निको हुन्छ। कतिपय अवस्थामा जथाभाबी औषधी किनेर खाए जटिल रोगहरू झनै जटिल भएर जाने पनि हुन्छ। पछि त्यसलाई नियन्त्रणमा ल्याउन गाह्रो हुने अवस्था आउँछ। त्यसैले पेट दुखे सबैभन्दा पहिला चिकित्सकको सल्लाह लिनु नै उपयुक्त हुन्छ। आफैं औषधी खाएर अस्पताल जानुपर्ने अवस्था आयो भने त्यसले एकातिर खर्च बढाउँछ भने अर्कोतिर समय पनि बर्बाद हुन्छ।
बिरामीको पेट दुखाइ कस्तो छ कहाँ दुखेको छ त्यसका आधारमा उपचार गरिन्छ।
कतिपय अवस्थामा पित्तथैलीमा पत्थरी हुन्छ तर बिरामीले वर्षौंदेखि ग्याष्ट्रिकको औषधी खाएको हुन्छ। एकैचोटि पित्तथैली पाकेर समस्या भएपछि अस्पताल जाने हुन्छ। त्यही भएर ग्याष्ट्रिक भयो भन्दैमा आफूखुसी औषधी खानु हुँदैन।
ग्याष्ट्रिकसँगै सानो आन्द्रामा घाउ भएको बेलामा समेत औषधीले नै त्यसको उपचार गर्न सकिन्छ। खानामा हेलचक्र्याँइ गरेन र होसियारी अपनाइयो भने त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ। हामीकहाँ एउटा ठूलो समस्या छ, बिरामी भएर चिकित्सककहाँ जाने तर औषधी खाए पनि खानपिनमा ध्यान नदिने गरिन्छ। यस्तो बेलामा चुरोट रक्सी खाने गरे रोग बल्झिरहन्छ। बिरामीले खानपिनमा ध्यान दिँदैन तर चिकित्सक र अस्पताल भने परिवर्तन गरिरहन्छ। आफूले नै आफ्नो ध्यान दिइएन भने चिकित्सकले मात्रै भनेर केही हुँदैन। चिकित्सकले रोग निको हुन सहयोग गर्ने हो भने बिरामीले पनि यसमा गम्भीरता देखाउन जरूरी छ।
खान नपच्नु पनि पेटको अर्को समस्या हो। कतिपय खाना पच्दैनन् अनि जे खायो त्यही निस्किने हुन्छ। खाना राम्ररी पकाएर र राम्ररी चपाएर खाने, सागसब्जीको मात्रा मिलाएर खाने, सफा पानी पिउने गरियो भने खाना नपच्ने समस्या हुँदैन।
नेपालमा पेटको उपचार
नेपालमा पेटसम्बन्धी सबैखाले समस्या समाधान हुन्छ। नहुने भन्ने कुनै पनि उपचार छैन। रोग अनुसारको उपचार गर्ने सबैजसो प्रविधि नेपालमा छन्।
आजकल, पेटको डाइग्नोसिसदेखि लिएर अपरेसनमा धेरै नयाँ प्रविधि रहेका छन्। सिटिस्क्यान, एमआरआइदेखि लिएर अपरेसन गर्दा प्रयोग हुने ल्याप्रोस्कोपीको समेत प्रविधि नेपालमा छ।
ल्याप्रोस्कोपी भनेको प्वाल पारेर गरिने उपचार हो। ल्याप्रोस्कोपी गर्दा पेटमा सानो-सानो घाउ पारिएको हुन्छ, जुन छिटै निको हुन्छ। पेटमा ठूलो घाउ बनाउनु पर्दैन। सामान्यत: चिरेर हेर्न नमिल्ने ठाउँमा पनि सजिलै हेर्न सकिन्छ।
एपेन्डिसाइटिसमा पनि दुलो पारेर अपरेसन गर्दा धेरै ठूलो घाउबाट बचाउन सकिन्छ। हिजोआज धेरैजसो अपरेसनहरू दुलो पारेर नै गरिन्छ। सबैभन्दा बढी गरिने पित्तथैलीको अपरेसन हो। यस्तो अपरेसन नेपालमा हुन थालेको २० वर्ष हुन लागिसक्यो। पेटको ट्युमरको अपरेसन, खाने नलीको अपरेसन, खाना नलीमा खाना अड्किएर निल्न नसक्ने लगायतका समस्याको ल्याप्रोस्कोपीबाट अपरेसन गर्न सकिन्छ।
पेट र छाती छुट्टाउने ठाउँमा समस्या आयो भने खाएको खान फर्किने, उलुक-उलुक आइराख्नेदेखि लिएर पेटको खानेकुरा छातीमा फर्किएर पेट पोल्नेलगायतको पनि नचिरिकन उपचार गर्न सकिन्छ।
फियोले नै रगत खाएर मान्छेलाई कमजोर बनायो भने त्यस्तो अवस्थामा फियो फ्याँक्नुपर्छ। त्यस्तो अवस्थामा पनि फियोलाई नचिरिकन फ्याँक्न सकिन्छ। कलेजोमा लाग्ने कतिपय रोगहरूको पनि अपरेसन गर्दा चिर्नु पर्दैन। त्यस्तै ठूलो आन्द्राको क्यान्सरदेखि लिएर पित्तनलीमा ढुंगा अड्किएको समस्या अनि ठूलो आन्द्रा खस्ने समस्या, नाइटोमा, पेटमा हुने हर्नियाहरूको अपरेसन प्वालबाटै गर्न सकिन्छ।
ल्याप्रोस्कोपीबाट अपरेसन गर्दा छिटो निको हुने काममा छिटो फर्किन सक्ने, अपरेसनपछि घाउको समस्या कम हुने हुन्छन्। विकसित देशहरूमा धेरै अपरेसन प्वालबाटै हुन्छन्।
पेट बढ्नु पनि पेटको अर्को समस्या हो। पेट धेरै कारणले बढ्छ। मान्छे मोटाउँदै गयो भने पेट बढ्छ। रक्सी धेरै खानेहरूमा पेटमा पानी जमेर पेट बढ्ने हुन्छ। कलेजोहरू फुल्दै गयो भने पेट बढ्छ। त्यसैले, यस्तो बेलामा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
पेटलाई कसरी स्वस्थ राख्ने?
पेटलाई स्वस्थ राख्न सबैभन्दा महत्वपूर्ण खानेकुरा नै हो। स्वस्थकर र सन्तुलित खाना खानुपर्छ। जथाभावी धेरै खाएमा शरीरमा बोसो बढी लाग्छ जसले अनेकथरी समस्या निम्त्याउँछ। खाना खाँदाखेरी कार्बोहाइड्रेट, प्रोटिन मिलाएर खानुपर्छ। सागसब्जी, फलफूलको प्रयोग उचित मात्रामा गर्नुपर्छ। माछा मासु खाँदाखेरी सागसब्जी अलि धेरै नै खानुपर्छ। मासु पकाएको दिनमा अरु तरकारी पकाउनु पर्दैन भन्ने गलत बुझाइ छ। मासु खाएपछि त्यसले गर्दा दिसा बन्ने प्रक्रियालाई असर गर्छ। जसले गर्दा अनेक रोग निम्त्याउन सक्छ। त्यसैले, माछामासु पाकेको दिनमा अरु बेलाको भन्दा सगसब्जी बढी खानुपर्छ, पचाउन र स्वस्थ हुनलाई।
(सह-प्राध्यापक घिमिरे त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा कार्यरत छन्।)