जाडो लागेसँगै अधिकांशमा छाला सुख्खा हुने, सुन्निने, फुट्ने, चिलाउने, घाउ हुने लगायतका समस्या देखिन थाल्छन्।
छाला सुख्खा भएपछि चिलाउँछ, धेरै कन्याएपछि घाऊ नै बन्छ, त्यसैले अलिअलि चिलाउँदैमा विशेष ध्यान दिनुपर्ने छालारोग विशेषज्ञ उमा केयल बताउँछिन्।
‘सुख्खा छालामा धेरै कन्याएर आफैले घाउ बनाउँछन् र सामान्य सोचेर वेवास्ता गर्छन्। तर, किटाणुको संक्रमणले घाउ जटिल बन्दै जानसक्छ, यसकारण समयमै खाने र लाउने औषधिमा ध्यान दिनुपर्छ’ उनले भनिन्।
जाडोयाममा धेरै तातो पानीले ननुहाउन पनि उनले सुझाएकी छन्।
जाडो लाग्ने बित्तिकै मानिस धरै तातोपानीको प्रयोग गर्छन्।
यसले पनि छाला सुख्खा हुने गर्दछ। त्यसो त तातोपानीको प्रयोग नै नगर्ने भन्ने होइन।
तातोपानीको प्रयोगपछि छाला सुख्खा हुने, फुट्ने समस्या देखिने हुनाले नुहाउने वित्तिकै तेल, क्रिमको प्रयोग गर्नुपर्ने उनी बताउँछिन्।
‘तातोपानीले नुहाउने वित्तिकै छाला नरम हुन्छ र छालाका स–साना डट खुल्छन्। यसबाट क्रिम, तेल सजिलै छिर्छ र सुख्खा हुन पाउँदैन’, उनले प्रष्ट्याइन्।
तर सबै प्रकारका क्रिमले सुख्खा पन हटाउँदैन र सबै प्रकारका छालालाई एउटै क्रिम उपयुक्त नहुनाले छालाको प्रकृतिअनुसार क्रिमको प्रयोग गनुपर्ने उनले जानकारी दिइन्।
उनका अनुसार गर्मीमा लगाइने क्रिम जाडोमा उपयुक्त नहुनसक्छ त्यसैले क्रिमको प्रयोग समयअनुकुलको गर्नुपर्नु पर्छ।
पटक–पटक चिसो पानी चलाउँदा, साबुनको धेरै प्रयोग, ब्लड प्रेसर लगायत विभिन्न औषधि सेवन गर्नेहरुमा पनि छाला सुख्खा हुने समस्या हुन्छ। जसबाट बच्न मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्नुपर्छ।
छालालाई सुख्खा हुनबाट जोगाउन खानपानमा समेत विशेष ध्यान दिनुपर्छ। हरियो साग सब्जीका साथै प्रशस्त पानी पिउनाले छालामा कम समस्या देखिने उनले बताइन्।
धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या भएमा मनतातो पानीमा नुन राखेर डुबाउने र तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउँदा राम्रो हुन्छ।
यति गर्दा पनि छाला सुख्खा हुने र फुट्ने समस्या दखिएमा चिकित्सकसँग सल्लाह लिनुपर्ने डर्माटोलोजिष्ट केयलले सुझाव दिइन्।