माइग्रेन भनेको टाउको दुख्ने एक किसिमको समस्या हो। माइग्रेन हुँदा टाउकोभित्रको स्नायु नसा सक्रिय भए दुख्ने हुन्छ।
माइग्रेन हुँदा एकापट्टी टाउको दुख्ने र बान्ता आउलाजस्तो हुने, कहिलेकाहीँ बान्ता पनि हुने, प्रकाश र आवाजसँग 'इरिटेसन' हुने हुन्छ।
यस्तो अवस्था चारदेखि ७२ घन्टासम्म हुने र बाराम्बार यस्तै घटना भइरहने हुन्छ।
माइग्रेन के कारणले हुन्छ भन्ने एकिन भइसकेको छैन। माइग्रेन भएकामध्ये २ तिहाइलाई वंशानुगत कारणले यो रोग हुन्छ।
२०१६ को विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारका १ अर्ब मानिस माइग्रेनबाट पीडित छन्।
प्रत्येक ७ जनामा १ जनालाई माइग्रेनको समस्या छ। कसैलाई महिनामा एक पटक समस्या पर्न सक्छ अनि कसैलाई हप्तामा एक पटक समस्या आउन सक्छ। कसैलाई छुट्टी नै लिनपर्ने गरी समस्या हुन्छ भने कसैलाई सामान्य हुन्छ।
धुलिखेल अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ अजय रिजालले गरेको अनुसन्धानले सयमा २० देखि ३० जना नेपालीलाई माइग्रेन भएको देखाएको छ।
संसारभरि नै माइग्रेन अशक्त पार्ने चौथो ठूलो रोग हो। माइग्रेन भयो भने धेरै समस्या पार्छ। पढाइ र काममा असर पार्छ । सामाजिक र पारिवारिक रूपमा समस्या आउँछ। यसले दीर्घकालीन अशक्त पनि बनाउँछ।
माइग्रेन महिलाहरूमा अलि बढी हुन्छ। माइग्रेनपीडितमध्ये २ तिहाइ महिला छन्। यसको पछाडि वंशानुगत रहे पनि अरू कारण पत्ता लागेको छैन। माइग्रेन खानपिन, तनाव, अनिद्रा, चर्को आवाज, घाम र मौसमले परिवर्तनले बढ्छ। धेरै गर्मी या जाडोले पनि दुखाइ बढाउन सक्छ।
माइग्रेन उपचार गर्न सकिने समस्या हो। 'फिजिसियन' र 'न्युरोलोजिष्ट'ले ओपिडिमा बिरामीको दुखाइ कस्तो छ, दुखाइ हुँदा के के हुन्छ, दुखाइ कतिबेरसम्म रहन्छलगायत परीक्षण गरेर यसको निर्क्यौल गर्न सक्छ। अरू साना खालका परीक्षण गरेर पनि माइग्रेन भए/नभएको निर्क्यौल गर्न सकिन्छ। अरू कुनै विशेष परिक्षण गर्नु पर्दैन। धेरै बिरामी सिटीस्क्यानलगायत अनेकथरी परीक्षण गरेरमात्रै 'न्युरोलोजिष्ट' कहाँ आउँछन्।
केही माइग्रेनहरूमा थप परीक्षण पनि गर्नु पर्ने हुन्छ। जसका कारण माइग्रेन बढी भएको छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ। माइग्रेनपीडितहरूले आफ्ना समस्या बताएको आधारमा यसको उपचार गर्न सकिन्छ। टाउको कति दुख्छ, टाउको दुखाइसँगै के-के हुन्छ र कति समयदेखि भइरहेको छलगायतका परीक्षणमा माइग्रेन हो भनेर पत्ता लगाउन सक्छौं।
माइग्रेनको उपचारलाई विभिन्न भागमा बाँड्न सकिन्छ। पीडाको आधारमा औषधी दिइन्छ। व्यक्तिको समस्या, उमेर र लिंगका आधारमा पनि औषधी खानुपर्ने हुन्छ।
माइग्रेन भएका व्यक्ति जे कारणले माइग्रेन भएको छ त्यसबाट बच्नुपर्छ। जस्तै, चर्को घाममा गएर माइग्रेनको आक्रमण हुन्छ भने त्यहा नजाने, असर गर्ने खाने कुरा नखाने, चकलेट, कफी, वाइन, चिजलगायतले असर गर्छ भने ती पनि खानु हुँदैन।
कम्तिमा८ घन्टा सुत्नुपर्छ। आधा घन्टा दैनिक शारिरीक व्यायाम गर्नुपर्छ। पानी पर्याप्त मात्रामा पिउनु पर्छ भने धेरै गर्मी अनि धेरै जाडोबाट बच्नुपर्छ।
माइग्रेन हुनै नदिन त केही गर्न सकिदैन तर माइग्रेन बढी हुने सम्भावना छ भने आफ्नो जीवनशैली स्वस्थ र खुसी बनाउन पर्छ। खानामा सागसब्जी फलफूल खानुपर्छ। अनावश्यक तनाव लिनु हुँदैन। यस्तो गर्न सकियो भने माइग्रेन कम हुन्छ।
(डाक्टर रौनियार ग्राण्डी अस्पताल धापासीमा कार्यरत छन्।)