चिसो मौसममा अधिकांशलाई ओठ फुट्ने समस्याले सताउँछ। ओठ फुटेर घाऊ हुने, रगत आउने, खाना खानै समस्या हुने गर्छ।
चिसो मौसममा पानीको मात्रा कमी भएर ओठ फुट्ने छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठ बताउँछिन्।
यससँगै हरियो सागसब्जी तथा फलफूल नखाँदा, कम गुणस्तरको लिपबाम तथा लिपिस्टिकको प्रयोगले ओठ फुट्ने डा. श्रेष्ठले बताइन्।
पटक–पटक ओठमा जिब्रोले चलाउँदा पनि ओठ फुट्छ।
‘धेरै जाँड रक्सी र चुरोट सेवन गर्नेहरुमा पनि यो समस्याले सताउँछ’, डा. श्रेष्ठले भनिन्।
जाडोको समयमा ओठ फुट्नबाट बच्न घरबाट बाहिर निस्किदा घिऊ, मह, नरिवलको तेललगायत चिल्लो पदार्थ लगाउनुपर्छ।
‘समय–समयमा ओठमा लिप बाम लगाउनुपर्छ। भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ’, उनले जानकारी दिइन्।
डा.श्रेष्ठले बजारका जुनसुकै क्रिम ओठमा नलागउन समेत सचेत गराइन्।
चिसो मौसममा ओठ मात्र नभएर छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ।
‘चिसोका कारण ओठ फुटेर जमेका मृत छाला नङले अथवा औंलाले कोट्याएर निकाल्न हुँदैन। यसो गर्दा घाऊ भएर झनै समस्या बढ्छ। यदि ओठ फुटेर घाऊ नै भएमा एन्टिबायोटिक क्रिम लागाउन पर्छ’ उनले सुझाइन्।