के हो बाथ रोग?
मासु तथा जोर्नी र तन्तुको दुखाइलाई हामी बाथ रोग भन्छौं। वास्तवमा भन्ने हो भने यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थालेपछि बाथ रोग हुन्छ।
अर्थात् प्रत्येक मान्छेभित्र रोगसँग लड्ने एक किसिमको क्षमता हुन्छ तर यस रोगले त्यसकै विरुद्धमा शरीरलाई नै हानिकारक गर्ने असमाजिक तत्वहरू जसलाई एन्टिबडी भन्ने गर्छौं, त्यस्तो किसिमको तत्वहरूको उत्पत्ति गराएर शरीरका विभिन्न भागको हाड, र्जोनी र कार्टिलेजहरू नष्ट गर्ने गर्छ। बाथ रोग भनेको युरिक एसिड नै भन्ने आम बुझाइ छ जुन गलत हो।
बाथ रोग किन हुन्छ?
अहिलेसम्म बाथ रोग के कारणले हुन्छ भनेर पत्ता लाग्न सकेको छैन। यो एउटा 'अटो युमिन डिजिज' भएको कारणले हुन्छ भन्नेछ।
बाथ रोग यही कारणले भएको हो भन्ने यकिन तथ्य छैन। कहिलेकाहीँ यो वंशाणुगत कारणले पनि हुनसक्छ। बाथ रोग सयभन्दा बढी प्रकारका हुन्छन्। सबभन्दा बढी देखिने भनेको'रुमटर अर्थाइटिस' र 'स्पन्डुला अर्थाइटिस' हो।
महिलाहरूलाई बढी हुने बाथलाई'सिस्टमिक ग्लुपस एरितोम्याटस' भन्छौं। मासुको बाथ पनि हुन्छ।
बच्चालाई हुने बाथ,ढाडसम्बन्धी बाथ,'सोराइटिक अर्थाइटिस' लगायतका बाथहरू हुन्छन्। नसाका बाथ पनि छ्न् यसको पत्ता लाग्न अलि समय लाग्छ।
बाथ भएको कसरी पत्ता लगाउने?
बाथ रोग भएको थाहा पाउन सबभन्दा पहिला यसको लक्षण थाहा पाउन जरुरी छ। सामान्यतया जोर्नीको दुखाइ हुन्छ। बिहानपख अरर हुने,आराम गर्दाखेरि बढी दुख्ने हुन्छ। हातका जोर्नीहरू सुन्निने, हातका जोर्नीहरू नीलो हुने अनि रातो सेतो खालको हुने पनि हुन्छ। त्यस्तै शरीरको छाला कसिलो भएर आउने,कपाल धेरै झर्ने,मुखमा घाउ हुने,छालामा दाग आउने खालको अवस्थामा बाथ रोग भएको हुनसक्छ भनेर बुझ्न सकिन्छ।
बाथ रोगको उपचार
बाथ रोगको उपचार यही हो भनेर भन्ने छैन। बाथ रोगका लागि रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन मिलाउने औषधि दिने गरिन्छ। बाथ रोगका औषधि सामान्य रूपमा भन्नुपर्दा २,३ थरीका छन्। एउटा खाने औषधि र अर्को सुईबाट चलाउने औषधि हुन्छ। सामान्यतया बाथको औषधि रोगको प्रकृति अनुसार फरक हुन्छ।
जाडोमा बाथ रोग बढी हुन्छ भन्ने आम बुझाइ छ। जाडोमा हाड जोर्नी र मांसपेसी कक्रक्क पर्ने भएकाले बाथ भएकाहरूलाई अफ्ठ्यारो हुने हो तर जाडोमा बाथ धेरै हुने भन्ने छैन।
जाडोको समयमा जोर्नी कसिलो हुन्छ,छालाहरू कडा हुने हुन्छ। हातका टुप्पाहरू अझै बढी नीलो हुन्छ। त्यही भएकाले न्यानो भएर बस्न जरुरी छ। चिसोले गर्दा बाथ रोग अलि बढेको जस्तो हुन सक्छ तर जाडोकै कारण बाथ रोग लाग्ने भन्ने हुँदैन।
बाथ रोगलाई लापरबाही गरे के हुन्छ?
बाथ रोग भइसकेपछि यसको नियमित औषधि सेवन गर्नुपर्छ। जनमानसमा यसबारे चेतनाको धेरै कमी छ। बाथ रोग भइसकेपछि १०,१५ दिन औषधि खाएर मलाई ठीक भयो भनेर छोडिदिने चलन छ,यस्तो कदापी गर्नु हुँदैन। यसो गर्दा झनै बल्झिँदै जाने खतरा हुन्छ।
अर्को आयुर्वेदिक औषधिका नाममा भ्रम पनि छ। आयुर्वेदिक औषधिको आफ्नै विशेषता छ, म यसलाई सम्मान गर्छु तर जसमा नाम समेत लेखेको हुँदैन त्यस्ता औषधि नियमित प्रयोग गरेर झन् हानी गरेको हुन्छ।
बाथ रोगले जोर्नी र तन्तुलाई मात्रै हानी गर्दैन। यसले दीर्घकालमा फोक्सो किड्नी, मुटु र नसालाई समेत असर गर्छ। यसलाई लापरबाही गर्यो भने धेरै क्षति व्यहोर्नु पर्छ।
बाथ रोग लाग्नै नदिन के गर्ने?
यही कारणले बाथ रोग हुन्छ भन्ने पत्ता लागेको छैन। त्यही भएर कसरी जोगिने भन्ने पनि छैन। वातावरणीय प्रभावमा पर्ने परिवर्तनले गर्दाखेरि हाम्रो शरीरलाई असर गरेको हुन्छ। सन्तुलित भोजन, सन्तुलित व्यायम, सन्तुलित खाना खान सकियो भने बाथ रोग लाग्न नदिन केही हदसम्म कम हुन सक्छ। तर यो यस्तो रोग हो जुन रोग कसरी हुन्छ भन्ने नै यकिन नभएको कारणले गर्दा जोगिन गाह्रो छ। स्वास्थ्य परीक्षण पनि नियमित गर्ने हो भने बच्न सकिन्छ।
(बाथ रोग विशेषज्ञ डा सिग्देल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र आरोग्य स्वास्थ्य सदनमा कार्यरत छन्।)