कलेजो मानव शरीरको सबभन्दा ठूलो आन्तरिक अंग हो। औसत वजन डेढ किलो भएको यो, दाहिनेपट्टिको करङमुनि हुन्छ।
पाचन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने, रगतमा रहेका हानिकारक पदार्थलाई निष्क्रिय बनाउने, विभिन्न खालका प्रोटिन बनाउने जस्ता अहम् कार्य कलेजोले गर्छ।
जब कलेजो पूर्णतया खराब हुन्छ, पेट फूल्ने (पानी जम्ने), आँखा पहेंलो हुने (जन्डिस), रगत बान्ता हुने, दिसा कालो हुने, होस् कम हुने जस्ता लक्षण देखा पर्दछन्।
कलेजो पूर्णतया खराब भैसकेपछि यसको खास उपचार भनेको कलेजो प्रत्यारोपण नै हो। जसरी शरीरका अन्य अंग आँखा, मिर्गौला प्रत्यारोपण गर्न मिल्छ, यो पनि दक्ष चिकित्सकहरूको टिमले एक व्यक्तिबाट अर्कोमा प्रत्यारोपण गर्न सक्छन्।
अस्वस्थ जीवनशैली नै नेपालमा कलेजो खराब हुने मुख्य कारण हो। अत्यधिक मद्मपान, हेपाटाइटिस बी, हेपाटाइटिस सी, कलेजोमा बोसो जम्ने रोग , कलेजोको क्यान्सर आदि कलेजो खराब गर्ने प्रमुख कारणहरू हुन्।
स्वस्थ जीवन शैलीको माध्यमबाट कलेजोको समस्या न्यून गर्न सकिन्छ।
हाल चिकित्सा विज्ञान क्षेत्रमा पनि कलेजो प्रत्यारोपण सम्भव छ,यो एउटा स्थापित पद्धति हो।
नेपालमा पर्याप्त जनचेतना,पूर्वाधार र जनशक्ति नभएको कारण यो ठूलो चुनौतीको रूपमा रहेको छ।
कलेजो दान गर्दा एउटै भएको कलेजोको टुक्रा काटेर दिनुपर्ने हुनाले कलेजो प्रत्यारोपण गर्न सबभन्दा ठूलो चुनौती भनेको दाताको अभाव हो।
मानव अंग किनबेच नहोस् भन्नै उद्देश्यले दाता आफ्नै नाताभित्रको हुनुपर्ने कानुनी प्रावधान छ। यसले दाताहरू अझ सीमित गरेको छ।
भएका दाताहरूमा पनि बिरामीसँग रक्त समूह, वजन लगायत केही प्राविधिक पक्षहरू मिल्न आवश्यक हुन्छ।
विदेशमा ‘ब्रेन डेड’ भएका व्यक्तिबाट समयमै कलेजो निकालेर प्रत्यारोपण गर्ने प्रविधि र चेतनाको धरै विकास भइसकेको छ, भने हाम्रो देशमा यसले कानुनी रूपमा वैधता पाए पनि यथार्थतामा उतार्न मुश्किल भएको छ।
हाम्रो सामाजिक र भावनात्मक सोचले पनि यसमा ठूलो चुनौती थपेको छ। मुत्यु भएका मानिसका आफन्तले कुनै पनि अंग दान गर्न नचाहने जस्ता समस्याहरू विकराल छन्। जीवित दाता भएको अवस्थामा दाताको करिब ६० प्रतिशत कलेजोको भाग काटेर बिरामीमा प्रत्यारोपण गरिन्छ।
कलेजो दाताबाट लिने र दिनेको गरेर एकैपटक दुइटा अपरेसन गरिन्छ। त्यसैले यसमा दुई शल्यचिकित्सकको (सर्जनको) टिमको आवश्यकता पर्छ।
कलेजोको तन्तुहरू पलाउने हुँदा दाता र बिरामीको कलेजो पुरानै आकार (स्थिति) मा फर्कन्छ।
दातालाई हानी नभए पनि कलेजो दान गर्ने विषयमा व्यापक अन्धविश्वास रहेको छ।
जनमानसमा कलेजो दान गर्न असाध्यै खतरनाक हुन्छ, कलेजो काटेर दियो भने यसले राम्रोसँग काम नगर्ला अथवा कम काम गर्ला, रोगी भइएला, आयु घट्ला भन्ने भय व्यापक रूपमा छ जसमा कुनै वैज्ञानिक सत्यता छैन।
कलेजोको प्रत्यारोपणपछि मृत्युकै मुखमा पुगेका बिरामी पनि सामान्य व्यक्तिको जीवन जिउन सक्छन्।
नेपालमा कलेजो पूर्णरूपमा खराब भई अकालमा मृत्यु हुने बिरामीको संख्या उल्लेख्य छ।
कलेजो प्रत्यारोपणका लागि ऋण गरेर वा पैतृक सम्पत्ति बेचेर भए पनि भारतको निजी अस्पताल जाने बिरामीको एक करोडमाथि खर्च हुने गरेको छ।
यसले बिरामीको आर्थिक अवस्थालाई र देशको अर्थतन्त्रलाई ठूलो असर पारेको छ।
विगतमा नेपालमा कलेजो प्रत्यारोपणका केही प्रयासहरू भए पनि यसले गति लिन सकेको छैन।
कलेजो प्रत्यारोपणको लागि दक्ष जनशक्ति तयार गर्न वा पूर्वाधार निर्माण गर्न सरकारको पर्याप्त लगानी छैन।
कलेजो प्रत्यारोपणको लागि आवश्यक कतिपय जाँचहरू विदेश पठाउनुपर्ने बाध्यता छ।
हालै त्रिवि शिक्षण अस्पतालमा भएको कलेजो प्रत्यारोपणको सफलताले स्वास्थ्य क्षेत्रमा नै नेपालले फड्को मारेको अनुभव हुन्छ। यसले गर्दा प्रत्यारोपणको लागि भारत जाने बिरामीलाई सहज भएको मात्र होइन, कमजोर आर्थिक अवस्थाका कारण भारत जान नसक्ने बिरामीलाई पनि उपचारमा पहुँच भएको छ।
आर्थिक अवस्था अत्यन्त दयनीय भएका कारण नेपालमै पनि प्रत्यारोपण गराउन नसक्नेलाई सरकार वा अन्य दातृ निकायले अनुदान दिएको खण्डमा कलेजो पूर्णतया खराब भएर अकालमा ज्यान गुमाउनेको संख्या कम हुने थियो।
(डा. हमाल पेट तथा कलेजो रोग विशेषज्ञ हुन्। उनी त्रिवि शिक्षण अस्पतालमा कार्यारत छन्।)