पूर्वाञ्चल क्षेत्रमा पहिलो क्यान्सर अस्पताल खुलेको छ।
झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतार परिसरभित्रै खुलेको अस्पतालको गत बुधबार नयाँ वर्षको दिन उद्धघाटन गरिएको हो।
ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षका पदम मिश्रलाई निःशूल्क रेडियसन थेरापी दिएर उपचार सुरु गरिएको छ।
क्यान्सरका बिरामीलाई लक्षित गरी संचालनमा लेराइएको अत्याधुनिक उपकरण सहितको पूर्वाञ्चल क्यान्सर अस्पताल ३ सय शैय्याको हो।
यो अस्पताल खुलेसँगै सुदूरपूर्वका क्यान्सरका बिरामीलाई उपचार गर्न चितवन, काठमाडौं, भारतको सिलिगुडी पुग्नुपर्ने बाध्यता हटेको अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्रकुमार यादवले बताए।
लामो समय भारतको मेदान्त अस्पतालमा सेवा दिएका डा. यादवले प्रत्येक तीन क्यान्सरका बिरामीमध्ये एकजना नेपाली बिरामीको उपचार गरेकोे अनुभव सुनाए।
‘नेपालमा राम्रो काम नपाएर भारत जानुपर्यो, नेपालमा यति ठूलो अस्पताल बन्ला र काम गर्न पाउँला भन्ने सोचेको थिइन। तर, आज आफ्नै देशमा सेवा दिन पाउँदा जीवनकै खुशी मिलेको छ’ उनले भने।
पूर्वाञ्चल क्यान्सर अस्पतालको संचालन बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले संचालनमा ल्याएको हुन्।
आफैं क्यान्सरबाट पीडित प्रसाईंले भारतबाट उपचार गरेर फर्किएपछि आफ्नै ठाउँमा क्यान्सर अस्पताल खोल्ने अठोट राखेको दाबी गरे।
पूर्वका जनतालाई उपचारका लागि अन्य ठाउँमा धाइरहन नपरोस भनेर राखेको अठोट पूरा भएकोमा उनले खुशी व्यक्त गरे।
‘आफूलाई क्यान्सर भएपछि भारतमा उपचार गराउन बाध्य भए।
त्यहाँ उपचार गराउँदा भोगेको समस्या सम्झेर सुविधासम्पन्न क्यान्सर अस्पताल खोल्ने सपना देखेको थिए। त्यो पूरा भएको छ, यसकारण म धेरै खुशी छु’, प्रसाईंले भने।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गाइने अंकोलोजिष्ट डा गेहनाथ बराल अब क्यान्सरको उपचार गर्न अत्याधुनिक सबै उपकरण र जनशक्तियुक्त अस्पताल संचालनमा आएको बताउँछन्।
क्यान्सरका बिरामीलाई उपकरण अभावका कारण विभिन्न ठाउँमा रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको अर्थोपेडिक सर्जन डा निराजनप्रसाद पराजुलीले बताए।
‘अब काठमाडौबाहिर पनि क्यान्सरको उपचार सम्भव छ’ उनले दाबी गरे।
उक्त क्यान्सर अस्पतालमा रेडियो थेरापी मेसिन, पेट स्क्यान, थ्रिडी मेमोग्राम मेसिन लगायतका अत्याधुनिक मेसिनबाट सेवा दिइने अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवले जानकारी दिए।
लगभग चार अर्बको लगानीमा अस्पताल निर्माण गरिएको बताइएको छ।