हामी शहरमा बस्ने सबैलाई धूलो र धूवाँले दिक्कै बनाएको छ। गाउँघरमा पनि जताततै बाटो बनाउनेक्रम बढ्नाले धुँलो उडिरहेकै छ।
विशेषगरी शहरमा धेरै सवारी चल्ने हुँदा गाडीको धुँवाले निकै असर पारिरहेको छ।
धुँवा र धुलोले आँखा चिलाउने, छाला फुस्रो भएर चिलाउने, एलर्जी भएर घाउ हुने, घाँटी खसखस हुने, श्वास नली सुन्निने खोकि लाग्नेलगायतका समस्याले सताउँछ।
यस्ता समस्याले दीर्घकालीन समस्या निम्तिाउने नाक कान घाँटी रोग विशेषज्ञ डा. अनिता जिसी बताउँछिन्।
धूलोधुँवाले कस्तो असर गर्छ?
धुलो धुँवाले घाँटी दुख्ने, खसखस हुने, घाँटीमा केही अड्किएजस्तो हुन्छ।
डा. अनिता जिसीकाअनुसार धुँवाले श्वाप्रश्वाससम्बन्धी हरेक अंगलाई असर गरेको हुन्छ। साथै नाक सुख्खा हुने र छातीसम्म असर गर्छ।
नाकको पछाडि धुलो जमेर घाउ समेत हुन्छ। त्यसले गर्दा घाँटीमा सुख्खापन भएर बिझाउँछ।
कस्ता लक्षण देखापर्छ?
धुँवाधुलोका कारण घाँटी दुखेर खानेकुरा निल्न गाह्रो हुन्छ।
कान, घाँटी अत्याधिक चिलाउने हुन्छ। धुँवाधूलोले नाक चिलाएर हाच्छ्युँ आउँछ भने नाकबाट पानी बगिरहन्छ। जीऊ दुख्ने समस्या आएर मन्द ज्वरो समेत आउने डा. जिसीले बताइन्।
कसरी बँच्ने?
घरबाहिर निस्कदा मास्क लगाएर मात्रै हिंड्ने।
चिल्लो, पिरो मसला धेरै भएको खानेकुरा नखाने।
धेरै चिसो पदार्थको प्रयोग नगर्ने।
नियमित ब्रस गर्ने।
हाच्छियूँ गर्दा मुख छोप्ने।
खाना खानेबित्तिकै नसुत्ने ।
घाँटी दुखेको बेलामा फिटकिरी अथवा नुनपानीले कुल्ला गर्ने।
मुख सफा गरिरहने।
प्रयाप्त आराम गर्ने
घाँटी अलिअलि दुख्दैमा चिकित्सकको सल्लाहविना औषधि किनेर नखान डा. जिसीको सुझाव छ। ‘धेरै औषधि खाएमा ‘एन्टिबायोटिक’को मात्रा धेरै भएर औषधिले काम गर्न छोड्छ। त्यसैले, चिक्सिकलाई देखाएर मात्रै औषधिको प्रयोग गर्नुपर्छ’, उनले भनिन्।