पछिल्लो पाँच वर्षमा १४ हजार बढी बालबालिकाको मृत्यु भएको तथ्याङले देखाएको छ।
स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको वार्षिक आँकडाअनुसार पाँच वर्षमा पाँच वर्षमुनिका १४ हजार ४ जना बालबालिकाको मृत्यु भएको देखाएको हो।
मृत्यु भएका बालबालिकामध्ये नवजात शिशुको संख्या उच्च छ। जन्मेदेखि २८ दिनसम्मका बालबालिकालाई नवजात शिशु भनिन्छ।
विभागको तथ्याङ्कअनुसार पाँच वर्षको अवधिमा नौ हजार तीन सय १९ नवजात शिशुको मृत्यु भएको छ।
आर्थिक वर्ष ०७४/०७५ मा सबैभन्दा बढी तीन हजार एक सय ३८ नवजात शिशुको मृत्यु भएको विभागअन्तर्गतको सूचना व्यवस्थापन शाखाको (एचएमआइएस) तथ्याङकले देखाएको छ।
त्यसैगरी, क्रमश आव ०७५/०७६ मा दुई हजार ३६, ०७१/०७२ मा एक हजार ८ सय ६५, ०७२/०७३ मा एक हजार एक सय १३, ०७३/०७४मा एक हजार एक सय ४७ नवजात शिशुको मृत्यु भएको छ।
सोही अवधिमा २९ देखि ५९ दिनसम्मका नौ सय ४६ बालबालिकाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
दुई महिनादेखि पाँच वर्षसम्मका मृत्यु भएका बालबालिकाको संख्या तीन हजार सात सय ३९ छ।
नवजात शिशुको मृत्युको मुख्य कारण कम तौलको जन्म, संक्रमण, सितांग हुनु, निसास्सिने समस्या र जन्मजात अपांग रहेको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा झलक शर्माले बताए।
उनकाअनुसार २९ दिनपछिका बालबालिकाको मृत्यु हुने प्रमुख कारणमा निमोनिया, झाडापखाला, मलेरिया लगायत रहेका छन्।
आव | नवजात शिशु | २९–५९ दिन | ६० दिन देखी ५ वर्ष मुनिका | जम्मा |
०७१/०७२ | १८६५ | २२७ | ११४४ | ३२३६ |
०७२/०७३ | ११३३ | ११९ | ८५५ | २१०७ |
०७३/०७४ | ११४७ | ८१ | ५६९ | १७९७ |
०७४/०७५ | ३१३८ | ४३१ | १०५२ | ४६२१ |
०७५/०७६ | २०३६ | ८८ | ११९ | २२४३ |
जम्मा | ९३१९ | ९४६ | ३७३९ | १४००४ |